लुम्बिनी क्षेत्रका होटल व्यवसायीको बैंकलाई जवाफ- कारबाही भोग्न तयार छौँ, सावा ब्याज बुझाउन सक्दैनौ – Nepal Press

लुम्बिनी क्षेत्रका होटल व्यवसायीको बैंकलाई जवाफ- कारबाही भोग्न तयार छौँ, सावा ब्याज बुझाउन सक्दैनौ

रुपन्देही । रुपन्देहीको भैरहवा र लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायीले असोज मसान्तमा बैंकलाई सावा व्याज तिर्न नसक्ने घोषणा गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरूले असोज महिनामा बुझाउनुपर्ने सावा ब्याजको ताकेता गरेपछि अहिले बुझाउन सक्ने कुनै अवस्था नरहेकाले यसको विकल्प खोज्न उनीहरूले आग्रह गरेका छन् ।

आज भैरहवामा पत्रकार सम्मेलन गरेर उनीहरूले संकटपूर्ण अवस्थामा कारबाही भोग्न तयार हुने तर चालु आर्थिक वर्षको असोज महिनामा सावा ब्याज बैंकलाई बुझाउन नसक्ने बताएका छन् ।

बैंकबाट ऋण लिए पनि २०७२ सालको महाभूकम्प, त्यसपछिको लामो बन्द हड्ताल र २०७६ फागुनदेखि कोरोना संक्रमणपछिको लामो समयको लकडाउनजस्ता कारणले पर्यटन क्षेत्र ठप्प हुँदा होटेल व्यवसाय धराशायी भएको भन्दै उनीहरूले अहिले सावा मात्रै नभएर ब्याजसमेत बुझाउन सक्ने अवस्था नरहेको जनाएका हुन् ।

सिद्धार्थ होटेल संघको आयोजनामा गरिएको पत्रकार सम्मेलनमा बैंक तथा सरकारले कारबाही गरे आफूहरू भोग्न तयार रहेको तर असोज मसान्तमा सावा–ब्याज दुवै बुझाउन नसक्ने जानकारी व्यवसायीले दिएका छन् ।

संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ (सीपी)ले विगतमा समयमै आफूहरूले बैंकलाई सावा–ब्याज समयमै तिर्दै आए पनि यस पटक विषम परिस्थितिका कारण बुझाउन नसक्ने प्रस्ट्याए ।

‘दुई वर्षभन्दा लामो समयदेखि पूर्ण रूपमा प्रभावित भएको पर्यटन क्षेत्र बिस्तारै उठ्न सुरु गरेको र कुनै महामारी र विपत्ति नआए यो क्षेत्र पूर्ववत अवस्थामा आउन अझै कम्तीमा ४ वर्ष लाग्ने र महामारीका कारण धराशायी बनेको पर्यटन अन्तर्गतको होटेल सेवा सबैभन्दा बढी प्रभावित र संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको उनको भनाइ छ ।

होटेल व्यवसाय संकटग्रस्त अवस्थाबाट गुज्रिरहँदा नोक्सानी दिनहुँ बढिरहेको छ’, उनले भने, ‘यस्तो अवस्थामा कसरी बैंकलाई ब्याज बुझाउन सकिन्छ ? संकटका बेला राज्यले हामीलाई सहयोग गरेको खोइ ? बैंकले ब्याज बढाएको बढायै गर्ने तर सहयोग हामीले कतैबाट पाएका छैनौँ ।’

होटेलको दैनिक नोक्सानी बढिरहँदा बैंकको सावा त के ब्याज तिर्न पनि नसक्ने अवस्थामा आफूहरू रहेको उनले बताए । उनले कोरोना संक्रमण पछि संकटग्रस्त भैरहवा, लुम्बिनी, तिलोत्तमा क्षेत्रमा रहेका संघमा आबद्ध होटेल व्यवसायीहरूले बैंकलाई तिर्नुपर्ने ऋणको सावा र ब्याज यो असोज मसान्तमा तिर्न नसक्ने जनाए ।

अध्यक्ष श्रेष्ठले आफूहरूको सावा–ब्याज बुझाउने समय पर धकेलिदिन आग्रह गरे । ‘हामी भाग्दैनौँ, दायित्व बुझाउँछौँ, तर सरकारले कहिले सुनेन । सरकारले पर्यटन व्यवसायको पुनरुत्थान लागि कुनै उपयुक्त कदम चालेन । खाली एकाध सहुलियतका बुँदा देखाई कनिका छर्ने काम गरेका छ’, उनले भने ।

होटेल संघले कर्जाको ब्याजदर घटाई १ अंकमा ल्याउनुपर्ने, थप राहतका कार्यक्रम पूनर्कर्जा कोषको समय वृद्धि कम्तीमा ३ वर्ष गरिनुपर्ने लगायतका माग अगाडि सारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *