यसरी सुरु भयो नवौं राष्ट्रिय खेलकुद (फोटो फिचर) – Nepal Press

यसरी सुरु भयो नवौं राष्ट्रिय खेलकुद (फोटो फिचर)

पोखरा । पर्यटकीय नगरी पोखरामा नवौँ राष्ट्रिय खेलकुदको समुद्घाटन समारोहका अवसरमा मार्चपाससहित विभिन्न सांस्कृतिक कार्यक्रम गरिएको छ ।

‘एकताबद्ध देश खेलकुदको सन्देश’ भन्ने नाराका साथ सुरु नवौँ राष्ट्रिय खेलकुदको भव्य समारोहका बीच उपराष्ट्रपति नन्दबहादुर पुनबाट औपचारिक उद्घाटन गर्ने कार्यक्रममा रङ्गशालामा सातवटै प्रदेश, तीन विभागीय, एनआरएन सहित ११ टिमका खेलाडी, अफिसियल, प्रशिक्षक, खेलप्रेमी र आम सर्वसाधारणको हजारौँ सहभागी छन् ।

उद्घाटन समारोहमा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, संस्कृति तथा पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, गण्डकी प्रदेशका गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, आयोजक राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतका विशिष्ट व्यक्तिको सहभागीता छ ।

उद्घाटन समारोहमा सातवटै प्रदेशका टिम, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट मार्चपास गरिएको छ । मार्चपासमा नवौँ राष्ट्रिय खेलकुदका लागि तयार गरिएको गण्डकी प्रदेशमा पाइने कस्तुरी मृगको मस्कट सहभागी छ । यस क्रममा विभिन्न जातजातिका सांस्कृति झाँकी प्रस्तुत गरिएको छ । रङ्गशालाका प्यारापिटमा खेलकुद प्रेमीको उल्लेख्य उपस्थिति छ ।

समारोहमा मूल आयोजक समितिका अध्यक्ष एवं युवा तथा खेलकुदमन्त्री गहतराजले नवौँ राष्ट्रिय खेलकुदको झण्डा झण्डोत्तोलन गर्नुभएको छ । झण्डामा गण्डकी प्रदेशको राजधानी पोखरा र माछापुच्छ्रेलाई रेखाङ्कित गरिएको छ । कार्यक्रममा मन्त्री गहतराजले खेलकुदको विकासका लागि तीनवटै तहका सरकार लाग्नुपर्ने बताए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकुद गण्डकीमा हुनु समग्र गण्डकी प्रदेशका लागि गौरव भएको बताए । गण्डकी प्रदेशमा खेलपर्यटनका पर्याप्त सम्भावना रहेको उनको भनाइ थियो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव घिसिङले स्वागत गर्दै नेपाली खेलकुदको इतिहासमा यसको महत्वपूर्ण स्थान रहने बताए । कूल ३६ वटा खेल र दुई प्रदर्शनीसहित ३८ खेल समावेश भएको प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएन गरी ११ टोली सहभागी छन् । कूल छ हजार एक सय ५७ खेलाडीले प्रतिस्पर्धामा भाग लिने जनाइएको छ ।

प्रतियोगितामा करिब एक हजार तीन पदकका लागि प्रतिस्पर्धा हुन लागेको हो । विसं २०३८ देखि सुरु नेपाली राष्ट्रिय खेलकुदको इतिहासमा विसं २०४० मा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद गर्ने अवसर पाएको पोखरालाई ३९ वर्षपछि नवौँ राष्ट्रिय खेलकुद घरेलु मैदानमा गर्ने मौका मिलेको हो ।

छत्तीस खेलमध्येका २६ खेल पोखरामा र अन्य गण्डकीका सात जिल्लामा भइरहेको छ । गण्डकीका लमजुङ, मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा नवौँ राष्ट्रिय खेलकुदका खेल सञ्चालन भएका छन् ।

उद्घाटनकै अवसरमा निर्णयकका तर्फबाट भलिबलका रेफ्री पहलसिंह थापा र खेलाडीका तर्फबाट प्याराग्लाइडिङका सुशील गुरुङले प्रतियोगितामा समावेश सम्पूर्ण खेलमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय नियमअनुसार खेल्ने तथा खेलाउने प्रतिबद्धतासहित सपथ लिएका थिए । रङ्गशालामा विभिन्न सांस्कृतिक प्रदर्शनी सञ्चालन भइरहेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर