पूर्वेली फुटबलका गुरुलाई अनन्त तामाङले किन भने महाभारतका ‘शकुनी’ ? – Nepal Press

पूर्वेली फुटबलका गुरुलाई अनन्त तामाङले किन भने महाभारतका ‘शकुनी’ ?

काठमाडौं । नेपाली फुटबलमा पूर्व क्षेत्रको विशेष योगदान छ । राष्ट्रिय टोलीमा पूर्वका खेलाडीको वर्चस्व देखिन्छ। तर, पूर्वी क्षेत्रले गुरु मानेका भागीरथ आले यतिवेला विवादमा तानिएका छन् ।

फुटबलकर्मीमाझ मामा उपनामले परिचित आलेमाथि यतिवेला राष्ट्रिय टोलीमा रहेका पूर्वेली खेलाडीहरु खनिएका छन् । राष्ट्रिय टोलीका नियमित सदस्य अनन्त तामाङले उनलाई ‘सकुनी मामा’ भन्दै आक्रोश पोखेका छन् । राष्ट्रिय टोलीमा रहेका खेलाडीहरु नवौं राष्ट्रिय खेलकुदको प्रदेश १ टोलीमा समावेश नगरिएपछि मामा विवादमा तानिएका छन् ।

आफूहरुलाई प्रदेशको टोलीमा समावेश नगरिएको भन्दै अनन्तले बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमा लामै स्टाटस लेखेका छन् । उनले आलेको बैगुनको शिकार भएको गुनासो गरेका छन् । प्रदेशको टोलीमा समावेश नगरेपछि अनन्तलगायतका राष्ट्रिय टोलीमा रहेका पूर्वेली खेलाडीले एनआरएन टोली रोजेका थिए ।

तर, मापदण्डविपरीत अनन्तलगायतलाई खेलाएको भन्दै आलेले आपत्ति जनाएका थिए । राष्ट्रिय टोलीमा रहेका खेलाडीलाई किन प्रदेशको टोलीमा समावेश गरिएन भन्ने विषयमा आधिकारिक रुपमा केही स्पष्ट पारिएको छैन ।

अनन्तले लेखेका छन् –

‘धन्यवाद भागीरथ आले मामा । सुन्ने गरेका थियौं, पूर्वको फुटबलमा हजुरले निकै ठूलो गुण लगाउनुभएको छ । आज हामीले भने त्यसको ठीकविपरीत बैगुनको भागीदार भयौं । दुई महिनाअघि प्रदेश खेलकुद परिषदका सदस्य सचिवले राष्ट्रिय खेलाडी समेटेर बलियो टोली निर्माण गर्ने र त्यसैअनुरुप तयारी गर्न भन्नुभयो । हामी राष्ट्रिय टोलीमा व्यस्त रहँदा पनि एकापसमा छलफल गर्थ्यौं र अन्य प्रदेशका खेलाडीसँग हँसिमजाक हुन्थ्यो ।

तर, राष्ट्रिय टोलीबाट फर्केपछि झापा र इलाम जिल्लाले प्रदेशमा हाम्रो नाम नराखेको थाहा पायौं । सबैले ‘मामा’ भनेर सम्बोधन गर्ने हजुरले हामीलाई सहभागी हुन नदिन महाभारतको ‘शकुनी मामा’ को रुप धारण गर्नुभएछ । प्रदेशबाट खेल्न नदिने लक्ष्यमा त सफल हुनुभयो । अब हामीसमक्ष आएको एनआरएनएबाट पनि खेल्न पाउनुहुन्न भन्नुहुन्छ ‌। यसरी फुटबल विकास कसरी हुन्छ ? राष्ट्रिय खेलाडीले राष्ट्रिय खेलकुदमा खेल्न नपाउने त होइन होला ? प्रदेश टोलीमा पनि नराख्ने अनि अन्यबाट खेल्दा पनि समस्या हुने, यो कस्तो विकास हो ?’

राष्ट्रिय खेलकुदमा ७ प्रदेश, तीन विभागीय टोली र एनआरएन गरी ११ टीमले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर