सिन्धुपाल्चोकमा तेस्रो लिस्तीकोट-दुगुनागढी माउण्टेन ट्रेल रेस हुने – Nepal Press

सिन्धुपाल्चोकमा तेस्रो लिस्तीकोट-दुगुनागढी माउण्टेन ट्रेल रेस हुने

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको ऐतिहासिक क्षेत्रको संरक्षणमा जुटेको नेपाली सेनाले दुगुनागढी र लिस्तीकोटको प्रचारप्रसार गर्न ‘तेस्रो लिस्तीकोट-दुगुनागढी’ माउण्टेन ट्रेल रेस प्रतियोगिता गर्ने भएको छ ।

भोटेकोसी गाउँपालिकाको आयोजना र नेपाली सेनाको गोरखबक्स गण चौताराको सहकार्यमा साढे २४ किलोमिटर लामो ट्रेल रेस हुने भएको हो ।

पहिलो वर्ष नेपाली सेना र सिन्धुपाल्चोकका विभिन्न स्थानीय सरकारसँगको सहकार्यमा प्रतियोगिता गरिएको भए पनि गत वर्षदेखि भोटेकोसी गाउँपालिकाको आयोजना र नेपाली सेनाको सहकार्यमा प्रतियोगिता हुने गरेको छ ।

भोटेकोसी गाउँपालिकाको सुख्खा बन्दरगाहदेखि नयाँ पुल, लिस्ती हुँदै दुगुनागढीसम्म साढे २४ किलोमिटर लामो दौड हुनेछ । पहिलो वर्ष २१ किलोमिटरमात्रै दौड भएको थियो । गत वर्षदेखि ३ किलोमिटर बढाइएको नेपाली सेनाले जनाएको छ ।

सिन्धुपाल्चोकको ऐतिहासिक लिस्तीमाई र दुगुनागढीको संरक्षण र प्रचारप्रसार गर्ने उद्देश्यले ट्रेल रेसको आयोजना गरिएको हो । ट्रेल रेसमा देशभरका खेलाडीहरु सहभागिता रहने नेपाली सेना गोरखबक्स गण चौताराका गणपति प्रमुख सेनानी जनक सिलवालले जानकारी दिए ।

हरेक वर्ष सेना दिवसको अवसरमा प्रतियोगीता सञ्चालन गर्ने गरिएको भए पनि यो वर्ष मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलगायत अन्य कारणले कात्तिक १७ गते प्रतियोगिता आयोजना गर्न लागिएको प्रमुख सेनानी सिलवालले जानकारी दिए ।

नेपाल–तिब्बतबीच पहिलो पटक सन् १७८८, दोस्रो पटक सन् १७९२ र तेस्रो पटक सन् १९८५ मा भएको युद्धको बेला भोटेकोसी गाउँपालिकाको लिस्तीमाईको दर्शन गरेर नेपाली फौज लडाइँमा गएको थियो ।

लिस्तीमाईको दर्शन गरेर दुगुनागढीबाटै तिब्बतसँग लडाइँ लडेकाले दुगुनगढीलाई ऐतिहासिक किल्लाको रुपमा लिने गरिएको छ । ऐतिहासिक महत्वको क्षेत्र भए पनि त्यसको संरक्षण र उचित प्रचारप्रसार नभएको भन्दै नेपाली सेनाले यसअघि नै यस्ता ऐतिहासिक क्षेत्रको संरक्षण गर्ने घोषणा गरेको थियो ।

ट्रेल रेसमा खुला, महिला खुला र सिन्धुपाल्चोक जिल्लावासी गरेर ३ विधा समावेश गरिएको छ । खुलातर्फ पहिलो हुनेले नगद १ लाख १० हजार, दोस्रोले ७५ हजार, तेस्रोले ५५ हजार, चौथोले ४० हजार, पाँचौंले ३० हजार र छैटौं हुनेले २० हजार रुपैयाँ नगद पुरस्कार पाउने प्रमुख सेनानी सिलवालले जानकारी दिए ।

त्यस्तै महिलातर्फ पहिलो हुनेले ६० हजार, दोस्रोले ३५ हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ पाउनेछन् । जिल्लावासीको लागि भने पहिलो हुनेले ३० हजार, दोस्रोले २० र तेस्रो हुनेले १५ हजार नगद पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा भाग लिने खेलाडीहरुको ५ लाख रुपैयाँ बराबरको बीमाको व्यवस्थासमेत गरिएको छ । समुन्द्री सतहबाट १ हजार २३६ मिटर उचाइबाट सुरु हुने रेस अन्तिममा २ हजार १२२ मिटरको उचाइमा पुगेर दौड सक्नुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर