महापुरुषको ‘मोफसल टुर’ सुरु, कलाकारले नचाए बिर्तामोडमा दर्शक – Nepal Press

महापुरुषको ‘मोफसल टुर’ सुरु, कलाकारले नचाए बिर्तामोडमा दर्शक

काठमाडौं । चलचित्र ‘महापुरुष’ले बिर्तामोडबाट ‘मोफसल टुर’ सुरु गरेको छ । विर्तामोडमा आयोजित कार्यक्रममा चलचित्रका कलाकारहरुले यसको प्रचार गरेका छन् ।

दर्शकहरुको उल्लेख्य उपस्थितिबीच वानस्टप मलमा आयोजित कार्यक्रममा चलचित्रका कलाकारहरु हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराइली, रविन्द्रसिंह बानियाँलगायतले दर्शकलाई मनोरञ्जन प्रदान गरे । गायिका रचना रिमालको समेत प्रस्तुति रहेको कार्यक्रममा कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई भब्यता दिन स्थानीय कलाकारको समेत प्रस्तुती समावेश गरिएको थियो । कलाकारहरु अरुण र अञ्जनाले नृत्य प्रस्तुत गर्दा हरिवंश र रचनाले गीत प्रस्तुत गरेका थिए । गीत संगीत र नृत्यका माध्यमबाट दर्शकलाई झुमाउन सफल कलाकारहले चलचित्र राम्रो बनेको भन्दै हेरिदिन आग्रह समेत गरेका छन् ।

कात्तिक ११ गतेबाट प्रदर्शनमा आउने चलचित्रले उक्त कार्यक्रम अघि बिर्तामोडमा पत्रकार सम्मेलन समेत गरेको थियो । विभिन्न स्कूलहरुमा पुगेर चलचित्रबारे जानकारी दएको निर्माण टिमले बिर्तामोडकै डिम्याक्स हलमा पुगेर दर्शकसँग अन्तरक्रियासमेत गरेको थियो ।

प्रदिप भट्टराईको निर्देशन रहेको चलचित्रले मोफसलका विभिन्न शहरहरुमा पुगि प्रचारात्मक कार्यक्रमहरु गर्ने तय छ । निर्माण टिमले हेटौंडा, नारायणगढ, बुटवल, पोखरा लगायतका सहरमा कार्यक्रम गर्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *