महिला क्रिकेटः एपीएफ र सुदूरपश्चिमको जीत – Nepal Press

महिला क्रिकेटः एपीएफ र सुदूरपश्चिमको जीत

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटमा नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले जीत निकालेका छन् ।

मंगलबार पोखरा रंगशालामा भएको समूह (ए) को पहिलो खेलमा एपीएफले बाग्मती प्रदेशलाई ४ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको बाग्मतीले दिएको ९० रनको विजयी लक्ष्य पछ्याएको एपीएफले १९.१ ओभरमा ६ विकेट गुमाएर ९१ रन बनाउन सफल भयो ।

एपीएफका लागि मध्यक्रमकी ब्याटर रोमा थापाले २२ रनको योगदान गरिन् । ममता चौधरीले १७ रन जोडिन् । कप्तान सीता रानामगर १६ रन बनाएर पेभेलियन फर्कँदा नेरी थापा १६ र राजमती ऐरी ४ रनमा अविजित रहे ।

बाग्मतीको बलिङमा सुमन खतिवडा र सोनी पाख्रिनले समान दुई विकेट लिए भने कप्तान अस्मिना कर्माचार्यले एक विकेट लिइन् ।

पहिला ब्याटिङ गरेको बाग्मतीका लागि सुमन र अस्मिनाले समान १९ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

एपीएफको बलिङमा रेखा रावल, नेरी थापा र इन्दु बर्माले समान एक विकेट लिए ।

यसअघि प्रतियोगिताको पहिलो खेलमा बाग्मतीले सुदूरपश्चिमलाई ८ विकेटले हराएको थियो ।

मंगलबार नै सम्पन्न समूह (ए) को दोस्रो खेलमा गण्डकीलाई ६ विकेटले पराजित गर्दै सुदूर पश्चिमले प्रतियोगितामा पहिलो जीत निकालेको हो ।

पहिला ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर दिएको ६० रनको लक्ष्य सुदूरपश्चिमले १०.२ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो ।

सुदूरपश्चिमका लागि रीतु कानोउज्याले सर्वाधिक २२ रन जोडिन् । यस्तै स्नेहा महराले २१ रनको योगदान गरिन् ।

गण्डकीकी शीला क्षेत्रीले २ तथा सृष्टि जैसीले १ विकेट लिए ।

गण्डकीको ब्याटिङमा कप्तान सृष्टि जैसीले सबैभन्दा धेरै २८ रनको योगदान गरिन् । बाँकी कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सुदूरपश्चिमकी रीतुले २ विकेट लिँदा अनु कडायत, स्नेहा महरा र सविता धामीले समान एकएक विकेट लिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर