दसैंमा सर्वसाधारणले साटे ५६ अर्बका नयाँ नोट
काठमाडौं । यो पटक दसैंका लागि साना .(५, १०, २०, ५० र १०० रुपैयाँ) र ठूला दरका (५०० र १००० रुपैयाँ) गरी ५६ अर्ब रुपैयाँ बराबरको नयाँ नोट साटिएको छ । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवती नेपालले साना दरका १६ अर्ब र ठूला दरका ४० अर्ब रुपैयाँ नयाँ नोट साटिएको बताए ।
राष्ट्र बैंकले केन्द्रीय कार्यालयमार्फत गत २९ भदौदेखि नयाँ नोट साटेको थियो । बैंक तथा वित्तीय संस्थाले असोज २ गतेदेखि नयाँ नोट साट्न थालेका थिए ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भदौ २६ गते नै नयाँ नोट पठाएको थियो । आजबाट सार्वजनिक बिदा सुरु भएकाले दसैंका लागि नयाँ नोट साट्न बन्द भएको छ ।
दसैं बिदापछि कार्यालय खुल्नेवित्तिकै फेरि तिहारका लागि नयाँ नोट सटही हुने नेपालले जानकारी दिए ।