राजस्व संकलनको लक्ष्य पूरा गर्न करको दायरा बढाऊः अर्थ मन्त्रालय – Nepal Press

राजस्व संकलनको लक्ष्य पूरा गर्न करको दायरा बढाऊः अर्थ मन्त्रालय

काठमाडौं । अर्थ मन्त्रालयले करको दायरा बढाएर भए पनि राजस्व संकलनको लक्ष्य भेट्टाउन मातहतका निकायलाई निर्देशन दिएको छ । राजस्व सचिव रामेश्वर दंगालले चालु आर्थिक वर्षलाई तोकिएको राजस्व संकलनको लक्ष्य पूरा गर्न करको दायरा बढाउनुपर्ने बताएका हुन् ।

आन्तरिक राजस्व विभागको कार्यक्रममा राजस्व सचिवले करको दायरा बढाउने अभिव्यक्ति दिएका हुन् । दायरा बढाएर भए पनि लक्ष्य पूरा गर्न उनले निर्देशन दिए ।

राजस्व सचिव दंगालले बिलिङ्ग इन्फोर्समेन्टमा ध्यान दिन, बक्यौता कर असुल गर्न र गुणात्मक कर परीक्षण गर्न निर्देशन दिए । भन्सार विभाग र आन्तरिक राजस्व विभागले देशभरका राजस्व कार्यालयका प्रमुखलाई काठमाडौं बोलाएर लक्ष्यअनुसार राजस्व संकलनको निर्देशन दिएको छ ।

भन्सार र आन्तरिक राजस्व दुवैले आगामी आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलनको रणनीति बनाउनुका साथै भन्सार र कर प्रशासनमा देखिएका समस्या समाधान गर्न कस्तो नीतिगत सुधार गर्ने भन्ने विषयमा छलफल गर्न कार्यालय प्रमुखलाई बोलाएको छ ।

यो वर्ष भन्सार विभाग र आन्तरिक राजस्व विभागले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको छैन । चालु आर्थिक वर्षको भदौसम्ममा १ खर्ब ६५ अर्ब ८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १ खर्ब ३५ अर्ब रुपैयाँमात्रै संकलन भएको छ ।

गत आर्थिक वर्षमा ४ खर्ब ८३ अर्ब रुपैयाँ राजस्व संकलन गर्न सकेको भन्सार विभागलाई चालु आर्थिक वर्षमा ६ खर्ब २६ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिइएको छ । ५ खर्ब ६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको आन्तरिक राजस्व विभागलाई चालु आर्थिक वर्षमा ६ खर्ब ६८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *