जलविद्युत र पर्यटनमा लगानी भित्र्याउन इन्डोनेशियाका राजदुतलाई प्रधानमन्त्री देउवाको आग्रह – Nepal Press

जलविद्युत र पर्यटनमा लगानी भित्र्याउन इन्डोनेशियाका राजदुतलाई प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जलविद्युत, पर्यटन र अन्य सम्भावित क्षेत्रमा इन्डोनेशियाको लगानी भित्र्याउन सहजीकरण गर्न नेपालका लागि इन्डोनेशियाका राजदूतलाई आग्रह गरेका छन् । मंगलबार बालुवाटारमा नेपालका लागि इन्डोनेशियाका राजदूत हेरु हारतान्तो सुबोलोसँगको भेटमा प्रधानमन्त्री देउवाले लगानी भित्र्याउन आग्रह गरेका हुन् ।

‘प्रधानमन्त्रीज्यूले पर्यटन, जलविद्युत तथा अन्य सम्भावित व्यवसायमा इन्डोनेशियाको सरकारी तथा निजी क्षेत्रको लगानी भित्र्याउन तथा नेपालको हिमाली पर्यटनलाई इन्डोनेशियाका पर्यटकबीच प्रवद्र्धन गर्न आग्रह गर्नुभएको छ’, प्रधानमन्त्रीलाई उदृत गर्दै नेपालका लागि इन्डोनेशियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकालले जानकारी दिए । प्रधानमन्त्री देउवाले नेपालमा गणतन्त्र इन्डोनेशियाको आवासीय दूतावास स्थापनाका लागि इन्डोनेशियाको सरकारलाई आग्रह समेत गरेका छन् ।

उक्त भेटमा नेपालका लागि गणतन्त्र इन्डोनेशियाका राजदूत सुबोलोले नेपालमा आवासीय दूतावास स्थापनाको लागि आफू सकारात्मक रहेको बताउँदै नेपालका प्रधानमन्त्रीको यो सन्देश इन्डोनेशिया सरकारसँग आफूले पुर्‍याइदिने बताए । राजदूत सुबोलोले कूटनीतिक तथा सरकारी राहदानीवाहकहरुलाई भिसा सहजीकरणको लागि दुई देशबीच छिट्टै सम्झौता हुने जानकारी गराए ।

अक्टोबरमा इन्डोनेशियामा आयोजना हुने ट्रेड एक्स्पोको प्रवर्द्धनका क्रममा नेपालमा रहेका राजदूत सुबोलोले नेपाल र इन्डोनेशियाबीच दुईपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन गर्न एक्स्पोले महत्वपूर्ण भूमिका उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *