भृकुटीमण्डपमा दशैं लक्षित डिजी पे स्टक क्लियरेन्स मेला हुने, ५० प्रतिशतसम्म छुट – Nepal Press

भृकुटीमण्डपमा दशैं लक्षित डिजी पे स्टक क्लियरेन्स मेला हुने, ५० प्रतिशतसम्म छुट

काठमाडौं । दशैंको अवसर पारेर भृकुटीण्डपमा डिजी पे स्टक क्लियरेन्स मेला ‘ग्राण्ड सेल’ हुने भएको छ । दशैंका लागि सस्तो मूल्यमा वस्तु तथा सेवा एकै छानामुनि उपलब्ध गराउन इभेण्ट सोलुसन प्रालिले मेला आयोजना गर्न लागेको हो ।

आउँदो शुक्रबारदेखि हुने मेलामा बजारको तुलनामा दैनिक उपभोग्य सामानहरु सस्तोमा उपलब्ध हुने इभेण्ट सोलुसनका प्रबन्ध निर्देशक विजयसागर प्रधानले जानकारी दिए । ‘एकै छानामुनि सुपथ मूल्यमा आम उपभोक्तालाई दशैंको किनमेल गराउने उद्देश्यले मेला आयोजना गरिएको हो’, प्रधानले भने ।

नेपाल, भारत, चीन, बंगलादेश, पाकिस्तान, मलेसिया, जापान तथा अन्य युरोपेली मुलुकमा उत्पादित सामानहरुको बृहत मेलालाई डिस होम फाइबर नेटले प्रवर्द्धन गरेको छ ।

प्रधानका अनुसार मेलामा सामान खरिद गर्ने ग्राहकले डिजी पेमार्फत भुक्तानी गर्दा ५० प्रतिशतसम्म दशैं विशेष छुट पाउनेछन् । वर्सेनि आयोजना हुँदै आएको मेलालाई यस पटक पनि निरन्तरता दिँदै ‘दशैंको बेला सस्तो मेला’ नारा दिइएको उनले बताए ।

मेलामा दशैंका लागि आवश्यक सबै किसिमका सामग्रीहरु सस्तो मूल्यमा किनमेल गर्न सकिने प्रधानले बताए । ‘मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकल र होम अप्लाइन्सेजलगायतका सामानहरु राखिनेछ । बजारको तुलनामा सस्तोमा स्वदेशी तथा विदेशी ब्राण्डका सामान खरिद गर्न सकिन्छ’, उनले भने ।

दशैंको किनमेलका लागि उपभोक्ता बजारमा धेरै भौतारिनुपर्ने अवस्था नहोस् भन्नका लागि एउटै छानामुनि क्लियरेन्स मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । असोज ७ गते सुरु हुने मेला १० गतेसम्म चल्नेछ । बिहान १० देखि साँझ ६ बजेसम्म चल्ने मेलामा ५० हजार उपभोक्ता आउने अपेक्षा आयोजकको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *