कलंकीको खसीबजार भत्काउँदै काठमाडौं महानगर
काठमाडौं । दशैं मांशाहारी चाड पनि हो । यतिबेला धेरै माछामासु खपत हुने गर्छ । काठमाडौं उपत्यकालाई चाहिने ७० प्रतिशत खसीबोकाको मासुको माग धान्ने काठमाडौ खसीबजार हटाउन काठमाडौं महानगरपालिकाले एक महिनाको समय दिएको थियो । महानगरले दिएको समय सकिए पनि स्टल अझै हटेको छैन ।
काठमाडौ चौपाया खरिदबिक्री संघले महानगरलाई स्टल राख्न पाउनुपर्ने माग गर्दै पत्राचार गरेको छ । महानगरले सो पत्राचारको बेवास्ता गरेको संघका व्यवस्थापक जीवनराज खतिवडाले बताए ।जसले गर्दा यसपटक खसीबोका ल्याउने कि नल्याउने भन्ने अन्योल रहेको उनले जानकारी दिए ।
स्टल हटाउन निर्देशन दिएपछि संघले एउटा पनि खसीबोका मगाएको छैन । उनले भने, कति वेला महानगरको डोजरले स्टल भत्काउँछ थाहा छैन । दशैंका लागि खसीबोका मगाउने अवस्था पनि छैन ।’
महानगरले गत भदौ २ गते स्टल भत्काउन निर्देशन दिएको थियो । खसीबजारबाट दशैंको घटस्थापनादेखि नवमीसम्म झण्डै ४० हजार खसीबोका बिक्री हुने गरेको छ । सामान्य अवस्थामा भने महिनाको २२ हजार वटासम्म खसीबोका बिक्री हुने गरेको संघका व्यवस्थापक खतिवडाको भनाइ छ ।
बजारमा काठमाडौ, ललितपुर र भक्तपुरका उपभोक्ता खसीबोका लिन जाने गरेका छन् । करिब ४० जिल्लाका कृषकले खसीबोका बेच्ने थलो पनि हो खसीबजार । खसीबजारमा २७ वटा स्टल छन् ।