यू-२० एसिया कप छनोटमा जितविहीन नेपाल: ‘अभद्र’ कप्तान, चार खेल र चार रातोकार्ड – Nepal Press

यू-२० एसिया कप छनोटमा जितविहीन नेपाल: ‘अभद्र’ कप्तान, चार खेल र चार रातोकार्ड

काठमाडौं । यू-२० एसिया कप छनोटको अन्तिम खेलमा बंगलादेशसँग ३-० गोलको नतिजामा पराजित हुँदै नेपाल दोस्रो चरण प्रवेश नै नगरी घर फर्किएको छ ।

छनोटको पहिलो चरणमा नेपालले खेलेका चार खेलमा चारैमा हार बेहोर्दै बाहिरिएको छ । नतिजा मात्रै नराम्रो आएको हैन खेलाडीको प्रदर्शनले पनि चर्चा पाउन सकेनन । यही टिमले गत महिना भारतमा आयोजना भएको य-२० साफमा गरेको प्रदर्शनले स्याबासी नै स्याबासी पाएको थियो । तर, बहराइनमा नेपाली टिमको प्रदर्शन सम्झनलायक हुन सकेन ।

समूह बी मा रहेको नेपालले एक खेलमा पनि जित निकाल्न सकेन । लगातार तीन खेल हारेको नेपालले अन्तिम खेलमा जित निकाल्ने धेरैलाई विश्वाश थियो तर अन्तिम खेलमा पनि नेपाली टिमको लय समात्न सकेन ।

बंगलादेशी खेलाडीलाई कुहिनाले प्रहार गरेपछि २६औं मिनेटमा नेपालका सेन्टर ब्याक अजय चौधरीले रातो कार्डको सामना गर्नु परेको थियो ।

त्यसको ६ मिनेटअघि सन्दीप कार्कीको स्थानमा मैदान प्रवेश गरेका नेपाली कप्तान आयुष घलान अभद्र व्यवहारका कारण रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिए । आयुषसँग अभद्र व्यबहारमा सामेल भएकै कारण बंगलादेशका अजिजुल हकी पनि दोहोरो पहेँलो कार्डको सामना गर्दै मैदानबाट बाहिरिए ।

आयूष बाहिरिएपछि नेपाली टिम ९ खेलाडीमा सीमित भएको थियो । आयुषको अभद्र व्यवहार पूरै नेपाली फुटबलका र समर्थकका लागि पनि लज्जास्पद भएको छ ।

नेपालले यस प्रतियोगितामा रातो कार्ड पाएको यो पहिलो खेल भने पक्कै हैन । यसअघि बहराइन र मलेसियाविरुद्ध पनि नेपालका खेलाडीले रातो कार्ड पाए ।

प्रतियोगिताको पहिलो खेलमा भुटानसँग २-० गोलको नतिजामा हारेको नेपाल दोस्रो खेलमा कतारसँग ३-१ ले पराजित गयो । तेस्रो खेलमा घरेलु टिम बहराइनसँग ६-० को नतिजामा पराजित भएसँगै नेपालको एसियाकप छनोटको दोस्रो चरण पुग्ने सपनामा ब्रेक लागेको थियो ।

घरेलु फुटबलमा युवा टिमको प्रशिक्षण सम्हालेर नयाँ उचाइमा पुर्‍याएका प्रशिक्षक मेघराज केसीले नै नेपाली यू-२० टिमको प्रशिक्षण सम्हालेका छन् । बहराइन जानुअघि राम्रो नतिजा ल्याउनेमा सबै विश्वस्त रहेपनि प्रदर्शनमा त्यो पूरा भएन । खेलाडीमा अनुशासन नदेखिएको टिप्पणीसमेत बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर