नेपालसँग भिड्न तम्तयार बंगलादेशको यस्तो छ विगत – Nepal Press

नेपालसँग भिड्न तम्तयार बंगलादेशको यस्तो छ विगत

काठमाडौं । साफ महिला च्याम्पियनसिपमा भारतको एक छत्र दबदबा तोड्दै नेपाल र बंगलादेश यसपटक फाइनल पुगेका छन् । सोमबार साँझ हुने छैठौँ साफ महिला च्याम्पियनसिपले प्रतियोगिताको इतिहासमा नयाँ विजेता पाउँदै छ । यसअघि पाँचवटै संस्करण भारतले जितेको थियो ।

दक्षिण एसियाली खेलकुदअन्तर्गत महिला फुटबलका हालसम्म आयोजित तीनवटै संस्करण पनि भारतले नै जितेको थियो । साफ महिला च्याम्पियनसिपमा नेपाल यसअघि एकपटक मात्र फाइनल पुग्नबाट चुकेको थियो । बंगलादेश भने दोस्रोपटक फाइनल खेल्दै छ ।

यसपटक उसले कायम गरेको रेकर्ड भने उल्लेखनीय छ । बंगलादेशले समूहगत चरणको अन्तिम खेलमा भारतलाई ३-० गोलले हराएको थियो । साफ महिला च्याम्पियनसिपको इतिहासमा भारतको यो पहिलो हार थियो। यही नतिजाले समूह उपविजेतामा सिमित भारतलाई नेपालले सेमिफाइनलमा १-० गोलले स्तब्ध बनाएको हो ।

बंगलादेशले यसपटक समूहगत चरणमा मालदिभ्सलाई ३-० र पाकिस्तानलाई ६-० गोलले हराएको थियो । बंगलादेशले सेमिफाइनलमा भुटानलाई ८-० गोलले पराजित गरेको थियो । दुवै हाफमा बंगलादेशलले ४/४ गोल गरेको थियो । यसको मतलब बंगलादेशले जारी प्रतियोगितामा एक गोल पनि व्यहोरेको छैन भने २० गोल गरेको छ । बंगलादेशले सेमिफाइनलमा गोलको वर्षा गरेको भुटानलाई नै हराएर प्रतियोगितामा विजयी सुरुवात गरेको थियो । भुटानसँगको खेलमा नेपाल ४-० गोलले विजयी भएको थियो ।

प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा बंगलादेशी नै अगाडि छन् । सबिना खातुनले सर्वाधिक ८ गोल गरेकी छन् । मोसाम्मत सिरात जहान सोप्नको नाममा ४ गोल रहेको छ । कृष्ण रानी सरकार, रितु पोर्ण चक्मा र मासुरा पर्विनले २/२ गोल गरेका छन् । मोनिका चक्मा र तोहुरा खातुनको नाममा १/१ गोल छ ।

सिनियर अन्तर्राष्ट्रिय महिला फुटबलमा बंगलादेशले नेपाललाई हालसम्म हराउन सकेको छैन । तर गत वर्ष दशरथ रंगशालामा नै भएको दुईवटा मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमार्फत बंगलादेशले आगामी दिनमा नेपाललाई सतर्क रहन सुझाव दिएको थियो ।

एक वर्षअघि दशरथ रंगशालामा बंगलादेशले नेपाललाई एउटा खेलमा गोलरहित बराबरीमा रोकेको थियो । त्यसअघि नेपालले सिनियर दक्षिण एसियाली महिला फुटबलमा भारतबाहेकका टोलीसँग बराबरीसमेत खेल्नुपरेको थिएन । दशरथ रंगशालामा भएको अर्को मैत्रिपूर्ण खेलमा भने नेपालले बंगलादेशलाई २–१ गोलले हराएको थियो ।

दक्षिण एसियामा तेस्रो बलियो टोलीको छवि

दक्षिण एसियाली महिला फुटबलमा बंगलादेशले भारत र नेपालपछि तेस्रो बलियो टोलीको छवि बनाएको छ । सन् २०१० मा बंगलादेशमै आयोजना भएको पहिलो साफ महिला च्याम्पियनसिपमा घरेलु टोली सेमिफाइनलसम्म पुगेको थियो । बंगलादेशलाई ३-० गोलले हराएर नेपाल फाइनल पुगेको थियो ।

त्यसअघि समूहगत चरणमा बंगलादेशले श्रीलंकालाई २-० र भु्टानलाई ९-० गोलले हराएको थियो भने भारतसँग ६-० गोलको हार ब्यहोरेको थियो। सन् २०१२ मा श्रीलंकामा आयोजना भएको दोस्रो संस्करणमा भने बंगलादेश समूहगत चरणबाटै बाहिरियो । भारतलाई ३-० गोलले पराजित भएको बंगलादेशले भुटानलाई १-० गोलले हराएको थियो। तर समूहको अन्तिम खेलमा श्रीलंकासँग २-१ गोलले स्तब्ध भएर बंगलादेशको यात्रा टुंगिएको थियो । सन् २०१४ मा आयोजना भएको तेस्रो संस्करणमा बंगलादेश सेमिफाइनलसम्म पुगेको थियो तर यसपटक पनि नेपालसँग १-० गोलले पराजित भएर फाइनल पुग्न सकेन ।

उसले समूहगत चरणमा अफगानिस्तानलाई ६-१ र मालदिभ्सलाई ३-१ गोलले पराजित गरेको थियो भने भारतसँग ५-१ गोलको हार ब्यहोरेको थियो । सन् २०१६ मा आयोजना भएको चौथो संस्करणमा भने बंगलादेशले ऐतिहासिक यात्रा तय गर्दै फाइनल पुग्यो । समूहगत चरणमा अफगानिस्तानलाई ६-० ले हराउनुका साथै भारतसँग गोलरहित बराबरी खेलेको बंगलादेशले सेमिफाइनलमा मालदिभ्सलाई ६-० गोलले पाखा लगाएको थियो । फाइनलमा भने भारत हावी भयो । भारतले बंगलादेशलाई ३-१ गोलले हरायो ।

सन् २०१९ मा आयोजना भएको पछिल्लो संस्करणमा बंगलादेश सेमिफाइनलबाट बाहिरिएको थियो । भारतसँग ४-० गोलले पराजित भएर बंगलादेशको यात्रा टुंगिएको थियो । त्यसअघि समूहगत चरणमा भुटानलाई २-० गोलले हराएको थियो भने नेपालसँग ३-० गोलले पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर