हालान्डको शानदार लय कायमै, टोट्टनहामको गोल वर्षा – Nepal Press

हालान्डको शानदार लय कायमै, टोट्टनहामको गोल वर्षा

काठमाडौं । म्यानचेस्टर सिटीका एर्लिङ हालान्डको शानदार लय कायमै रहेको छ। इङ्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति हालान्डकै गोल मदतमा म्यान सिटीले उल्भ्सलाई ३–० गोलले हरायो।

उल्भ्सको मैदानमा भएको खेलमा सिटीका हालान्डसहित फिल फोडेन र ज्याक ग्रियालिसे एक एक गोल गरे। ग्रियालिसले पहिलो मिनेटमै गोल गरेका थिए। डे ब्रुनको पासमा उनले गोल गरेका थिए। त्यसपछि १६ औं मिनेटमा हालान्डले अग्रता दोब्बर बनाए। ३३ औं मिनेटमा उल्भ्सका खेलाडीले सोझै रातो कार्ड पाएपछि म्यान सिटीको दबाब अझ बढेको थियो।

फोडेनले ६९ औँ मिनेटमा डे ब्रुनको पासमा गोल गर्दै टोलीलाई ३–० गोलले अगाडि बढाएका थिए। ७ खेलबाट १७ अंक भएको म्यान सिटी तालिकाको शीर्षस्थानमा छ। उसले पाँच जित र दुई बराबरीको नतिजा निकालेको छ। ११ गोलसहित हालान्ड यो सिजन इङ्लिस प्रिमियर लिगका सर्वाधिक गोलकर्ता रहेका छन्।

शनिबार राती भएको अर्को खेलमा टोट्टनहामले लेस्टरलाई ६–२ गोलले हरायो। घरेलु मैदानमा टोट्टनहामका सन हिउङ मिनले ह्याट्रिक गरे। ५९ औं मिनेटमा रिचार्लीसनको स्थानमा मैदान प्रवेश गरेका मिनले ७३, ८४ र ८६ औं मिनेटमा गोल गरेका थिए। त्यसअघि पहिलो हाफ २–२ गोलको बराबरीमा सकिएको थियो।

लेस्टरले छैटौँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्र्दै अग्रता लिएको थियो। तर दुई मिनेटलगत्तै हेरि केनले खेल बराबरीमा ल्याएका थिए। एरिक डायरले २१ औं मिनेटमा टोट्टनहामलाई अग्रता दिलाए।

तर जेम्स मेडिसनले ४१ औं मिनेटमा गोल गरेपछि लेस्टर बराबरीमा पगेको थियो। रोड्रिगो बेन्टानकुरले ४७ औं मिनेटमा गोल गरेपछि टोट्टनहामले दबदबा बढाउन थालेको थियो। ७ खेलबाट १७ अंक भएको टोट्टनहाम तालिकाको दोस्रो स्थानमा रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर