बढी ब्याजको होडमा उत्रिए बैंक, प्रभुले १५ प्रतिशतभन्दा बढी घोषणा गर्दा अरुको कति ? – Nepal Press

बढी ब्याजको होडमा उत्रिए बैंक, प्रभुले १५ प्रतिशतभन्दा बढी घोषणा गर्दा अरुको कति ?

काठमाडौं । बिहीबार वाणिज्य बैंकहरुले ब्याजदरको भद्र सहमति तोडेपछि बैंकहरुले धमाधम नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । भोलिदेखि लागू हुने ब्याजदरमा सबैभन्दा बढी प्रभु बैंकले १५ प्रतिशतभन्दा बढी दिने भएको छ ।

प्रभु बैंकले भने ३ महिना वा सो भन्दा बढी अवधिको ‘प्रभु उन्नति मुद्दति’ मा १५.१३ प्रतिशत सम्म ब्यादर दिने जनाएको छ । यस अघि बैंकहरुले निक्षेपमा ११.०३ प्रतिशतसम्म ब्याजदर प्रदान गर्दै आएका थिए । अन्य बैंकहरुले पनि मुद्दति निक्षेपको ब्याजदर अधिकतम १२.१३ प्रतिशतसम्म पुर्याएका छन् । यसअघि मुद्दती निक्षेपमा रकम राखेकाहरुलाई ब्याजदर बढेको भन्दै बैंकहरुले धमाधम फोन गरिरहेका छन् ।

यता एभरेष्ट बैंकले पनि असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने जनाएको छ । संस्थागत तर्फ भने १०.१३ प्रतिशत ब्याज रहेको छ । विप्रेषण मुद्दती निक्षेपमा भने १३.१३ प्रतिशत ब्याज पाइनेछ ।

यस्तै एनआईसी एसिया बैंकले असोज महिनाका सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपकर्ताले १२.१३ प्रतिशत ब्याज पाउने भएका छन् । साधारण बचततर्फ ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने सूचना बैंकले जारी गरेको छ ।

सेञ्चुरी बैंकको ब्याजदर पनि बढेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज पाइने छ । रेमिट्यान्स खातामा १४.१३ प्रतिशत पुगेको छ । यसका लागि निक्षेपकर्ताले न्यूनतम १० हजारको खाता खोल्नुपर्ने छ ।यस्तै संस्थागत निक्षेप तर्फ भने १०.१३ प्रतिशत ब्याज पाइने छ । बैंकका अनुसार बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने छ । यस्तै कर्जा लिँदा आधारदरमा ६.५० प्रतिशत प्रिमियर थपिने छ । बैंकबाट कर्जा लिँदा अधिकतम १६.५४ प्रतिशत ब्याज लाग्ने छ ।

पछिल्लो ६ महिनादेखि स्थिर रहेको ब्याजदरमा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ब्याज बढाउन पाउने व्यवस्था गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *