२४ वर्ष लामो लोभलाग्दो करियरबाट विश्राम लिए फेडेररले, यस्तो छ उनको रेकर्ड – Nepal Press

२४ वर्ष लामो लोभलाग्दो करियरबाट विश्राम लिए फेडेररले, यस्तो छ उनको रेकर्ड

काठमाडौं । कुनै समयका विश्व कीर्तिमानी ग्रान्डस्लाम टेनिस च्याम्पियन रोजर फेडेररले खेलाडी जीवनबाट सन्यास लिने घोषण गरेका छन्।
आगामी साता बेलायतमा हुने लेभर कप आफ्नो अन्तिम प्रतियोगिता हुने फेडेररले बताएका छन्। ४१ वर्षीय फेडेरर पछिल्ला तीन वर्ष चोट र शल्यक्रियाबाट गुज्रिरहेका थिए।

‘मैले पुर्ण लयमा फर्कन कडा मिहेनत गरेको हुँ। तर मलाई मेरो शरिरको सिमितता र क्षमता पनि थाहा छ। म ४१ वर्षको भइसकेको छु’, बिहीबार साँझ सामाजिक सन्जालमा फेडेररले लेखेका छन्, ‘मैले २४ वर्षमा १५ सयभन्दा बढी खेले खेलेँ। मैले कल्पना गरेँभन्दा बढी टेनिसले मलाई दियो। अब मैले सन्याश लिने बेला चाल पाउने समय भएको छ। आगामी साता हुने लेभर कप मेरो अन्तिम प्रतियोगिता हुने छ।’

फेडेरर २० पटकका एकल ग्रान्डस्लाम विजेता हुन्। उनले अस्ट्रेलियन ओपन ६ पटक, फ्रेन्च ओपन एकपटक, विम्बल्डन ८ पटक र यूएस ओपन पाँचपटक जितेका छन्।उनले पहिलो ग्रान्डस्लाम उपाधिका रुपमा सन् २००३ मा विम्बल्डन जितेका थिए। अन्तिम ग्रान्डस्लामका रुपमा सन् २०१८ को अस्ट्रेलियन ओपन हात पारेका थिए।

फेडेरर ११ पटक ग्रान्डस्लामको फाइनलसम्म पुगेर पराजित भएका थिए। पुरुष एकलतर्फ सर्वाधिक ग्रान्डस्लाम जित्ने खेलाडीका रुपमा फेडेररले बनाएको कीर्तिमान तोडिन धेरै वर्ष लागेको थियो। पछिल्लो एक दशकमा नोभाक जोकोभिचअघि राफेल नाडाल उनका कठिन प्रतिद्धन्द्धी थिए।

उनी ग्रान्डस्लामको फाइनलमा ६ पटक राफेल नाडालसँग र पछिल्लो चारपटक जोकोभिचसँग पराजित भएका थिए। बाँकी एकपटक सन् २००९ को यूएस ओपन फाइनलमा हुँवा मार्टिन डेल पोत्रोसँग पराजित भएका थिए।नाडालले २२ पटक र जोकोभिचले २१ पटक एकल ग्रान्डस्लाम उपाधि जितेका छन्। फेडेररले फाइनलमा नाडालले तीनपटक र जोकोभिचलाई एकपटक हराएर ग्रान्डस्लाम उपाधि जितेका थिए।

फेडेररले सन् २००९ मा विम्बल्डन जितेर पुरुष टेनिसमा सर्वाधिक एकल ग्रान्डस्लाम जित्ने खेलाडीको कीर्तिमान बनाएका थिए। उनले पिट साम्प्रासको नाममा रहेको १४ ग्रान्डस्लामको कीर्तिमान तोडेका थिए। फेडेररको उक्त कीर्तिमान गत अस्ट्रेलियन ओपन जित्दै नाडालले तोडेका थिए। यो वर्ष नाडालले अस्ट्रेलियन ओपन र फ्रेन्च ओपन जितेका छन्।

त्यसअघि सन् २०२० को फ्रेन्च ओपन जितेर नाडालले फेडेररको सर्वाधिक २० ग्रान्डस्लामको कीर्तिमान बराबरी गरेका थिए। जोकोभिचले पनि सन् २०२१ को विम्बल्डन जितेर फेडेररको कीर्तिमान बराबरी गरेका हुन्। फेडेररको सन्याश घोषणपछि नाडालले पनि भावुक स्टाटस लेखेका छन्।

उनले भनेका छन्, ‘ डीयर रोजर, मेरो साथी र प्रतिद्धन्द्धी। म चाहन्छु यो दिन कहिल्यै नआओस्। हामी सँगै जोडिएका यतिका वर्ष निकै आनन्दपूर्ण थिए र त्यसमा मलाई सम्मानित र गर्व महसुस हुन्छ। हामीले भविस्यमा साझेदारी गर्ने अनुभवहरु पनि धेरै छन्, अझै हामीले सँगसँगै गर्नुपर्ने धेरै कुराहरु छन्।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर