नेपाली चलचित्रले हलहरुमा ६० प्रतिशत शो पाउनुपर्छ : भुवन केसी – Nepal Press

नेपाली चलचित्रले हलहरुमा ६० प्रतिशत शो पाउनुपर्छ : भुवन केसी

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नयाँ रिलिज भएका नेपाली चलचित्रलाई हलहरुले कम्तिमा ६० प्रतिशत शो दिनुपर्ने बताएका छन् । तर, बोर्डले यसमा हलहरुलाई बाध्य पार्न नसक्ने उनको भनाइ छ ।

नयाँ चलचित्र ‘सायरा’ को घोषणा कार्यक्रममा बोल्दै केसीले बजारमा आफूलाई नेपाली चलचित्रलाई हल नदिएको भनेर बदनाम गरिएको गुनासो गरे । अहिलेसम्म बोर्डले चलचित्रलाई यतिवटा शो दिलाउने भन्ने कुनै नियम नभएको उनले बताए ।

‘मेरो विषयमा नकारात्मक हत्लला फैलाएर बदनाम गर्न खोजिएको छ । म फिल्म उद्योगका सबै पत्रकार, कलाकार, प्राविधिक साथीहरुलाई के भन्न चाहन्छु भने अहिलेसम्मको नियमानुसार विकास बोर्डले चलचित्रहरुलाई तैंले यतिवटा हल पाउनुपर्छ र यतिवटा शो पाउनुपर्छ भन्ने सक्ने नियम छैन’ केसीले भने ।

उनले थपे, ‘चलचित्र विकास बोर्ड नेपाली चलचित्रले ६० प्रतिशत हल पाउनुपर्छ भन्ने चाहन्छ । व्यक्तिगतरुपमा म पनि यही चाहन्छु । कम्तिमा पहिलो शोमा । यदि कुनै विदेशी चलचित्र राम्रोसँग चलिरहेको छ भने पनि कम्ति ५०-५० त हुनुपर्छ । यदि नेपाली चलचित्र कमजोर भयो र चलेन भने दोस्रो शोमा झार्न सक्नुहुन्छ । तर, नेपाली चलचित्र विदेशीभन्दा उत्कृष्ट भएर विदेशीलाई पछारेका उदाहरण पनि छन् । यसमा मेरो आफ्नै चलचित्र पनि पर्छ ।’

केसीले आफू विदेशी चलचित्रलाई रोक्ने पक्षमा नभएको बताए । नेपालले हरेक देशका चलचित्रलाई स्वागत गर्ने भए पनि स्वदेशी चलचित्रलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *