एचआईभी संक्रमितको अभिभावकत्व लिन स्थानीय सरकारसँग माग – Nepal Press

एचआईभी संक्रमितको अभिभावकत्व लिन स्थानीय सरकारसँग माग

भक्तपुर । एचआईभी संक्रमितको क्षेत्रमा काम गर्दै आएका संघसंस्थाले उनीहरुको अभिभावकत्व लिन स्थानीय सरकारसँग माग गरेका छन् । देश संघीयतामा गएसँगै एचआईभी संक्रमित लक्षित नीति तथा कार्यक्रम टुटेको भन्दै उनीहरुले स्थानीय सरकारलाई ती नीति तथा कार्यक्रमको अपनत्व लिनसमेत ध्यानाकर्षण गरेका छन् ।

भक्तपुरको चाँगुनारायण नगरपालिका ३ झौखेलस्थित सुरुवात सामुदायिक उपचार तथा पुनःस्थापना केन्द्रको पहलमा सोमबार भएको जिल्लास्तरीय समन्वय बैठकमा सहभागी संस्थाका प्रतिनिधिहरुले उक्त माग गरेका हुन् ।

देश संघीयतामा जानुअघि जिल्ला विकास समितिअन्तर्गत जिल्लास्तरीय एड्स समन्वय समिति रहेको र सोही समितिअन्तर्गत एचआईभी संक्रमित तथा लागूपदार्थ प्रयोगकर्ताहरु लक्षित नीति, बजेट तथा कार्यक्रम बन्ने उनीहरुको भनाइ थियो । देश संघीयतामा गएपछि जिल्ला विकास समितिको नाम परिवर्तन भएर जिल्ला समन्वय समिति भएसँगै एचआईभी संक्रमित तथा लागूपदार्थ प्रयोगकर्ताहरु अभिभावकविहीन भएको उनीहरुको तर्क थियो ।

संघीय संरचनाअनुसार हिजो जिल्ला विकास समितिमा जाने कार्यक्रम र बजेट अहिले सीधै स्थानीय सरकार एवं पालिकामा जान्छ । त्यसैले स्थानीय सरकारले एचआईभी संक्रमित लक्षित नीति तथा कार्यक्रम बनाइ आवश्यक बजेट व्यवस्थापन गर्नुपर्ने सुरुवातका अध्यक्ष राजेश दिदिया बताउँछन् ।

‘स्थानीय सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा एचआईभी संक्रमितलाई पनि समेट्नुपर्छ’, उनले भने, ‘संक्रमितहरुको उपचार तथा जिविकोपार्जनमा सहयोग गर्नुपर्छ ।’

उनले एचआईभी संक्रमितहरुको यथार्थ तथ्यांकसमेत नभएको भन्दै स्थानीय सरकारले आफ्नो क्षेत्रभित्रका संक्रमितहरुको तथ्यांक संकलन गर्नुपर्ने बताए ।

‘भक्तपुरमा एचआईभी संक्रमित कति छन् भन्ने यथार्थ तथ्यांकसमेत छैन’, अध्यक्ष दिदियाले भने, ‘संक्रमितहरुको पहिचान हुन नसक्दा उनीहरुकै परिवार र समाज संक्रमणको जोखिममा रहनुपरेको छ ।’

सुरुवातकै महासचिव राजन केसीले संक्रमितको उपचारमा सरकार र संयुक्त राष्ट्रसंघको ग्लोबल फण्डको सहयोग रहे पनि उनीहरुको जिविकोपार्जनमा समस्या रहेको बताए । उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न स्थानीय सरकारले सीपमूलक र आयमूलक तालिम दिनुपर्नेमा जोड दिए ।
‘तालिमपछि बीउ पूँजीको समेत व्यवस्था गर्नसके लुकेका संक्रमितलाई खुल्न सहयोग पुग्थ्यो’, महासचिव केसीले भने ।

बैठकमा स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले मुलुक संघीयतामा गएसँगै स्थानीय सरकारले अपनत्व नलिँदा एचआईभीलगायतका मुद्दा छुट्न गएको बताए । उनले पहिले जस्तै समन्वय बैठकको निरन्तरताको लागि स्वास्थ्य कार्यालयले पहल गर्ने र छुट्न गएका मुद्दा सम्बोधन गराउन स्थानीय र प्रदेश सरकारमा ध्यानाकर्षण गर्ने वचन दिए ।

‘अपनत्व लिने र समन्वयको अभाव देखिएको हो’, प्रमुख मिजारले भने, ‘एचआईभी संक्रमित लक्षित नीति र कार्यक्रम तर्जुमा गर्न तथा बजेट व्यवस्थापन गर्न प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गर्नुपर्छ ।’

भक्तपुर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख डा. रत्नसुन्दर लासिवाले एचआईभी संक्रमितको पहिचान र यथार्थ तथ्यांक नहुँदा समस्या भइरहेको बताए । उनले स्वास्थ्य कार्यालय र गैरसरकारी संघसंस्थासँग समन्वय गरेर अघि बढ्न भक्तपुर नपा तयार भएको जानकारी दिए ।

बैठकमा उपस्थित प्रतिनिधिहरुले जनप्रतिनिधिहरुको समेत बैठक गरेर नपाको नीति तथा कार्यक्रम र बजेटमा एचआईभीका मुद्दा समावेश गर्न लगाउनुपर्ने सुझाव दिएका थिए ।

बैठकमा भक्तपुर अस्पतालस्थित एआरटी सेन्टरकी सृष्टि अर्यालले सेन्टरले दिने सेवा सुविधालगायतबारे जानकारी दिएकी थिइन् । उनका अनुसार सेन्टरबाट भक्तपुरका १२१ जना एचआईभी संक्रमितले सेवा लिइरहेका छन् । तर यीमध्ये धेरैजना नियमित फलोअपमा नआउने गरेको उनले बताइन् ।

भक्तपुरका चार नपामध्ये चाँगुनारायण नपाको अनुपस्थिति रहेको बैठकमा सुरुवातका अनुसन्धान कोअर्डिनेटर अनुप अधिकारीले सुरुवातले सञ्चालन गर्दै आएको कार्यक्रम परियोजना र भक्तपुरका एचआईभी संक्रमितहरुले भोग्नुपरेका समस्याबारे जानकारी दिएका थिए । बैठकमा एचआईभीको क्षेत्रमा जिल्लामा सक्रिय सुरुवातसँगै हाम्रो पहुँचकी निलिमा खड्का, स्याटका रोशन सुवाल, आभासका सुपेश शाही, नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव सञ्जीव घिमिरे र अन्य सञ्चारकर्मीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *