पाएको अवसरलाई सदुपयोग गरेः रस्मि घिसिङ – Nepal Press

पाएको अवसरलाई सदुपयोग गरेः रस्मि घिसिङ

काठमाडौं । जारी महिला साफ च्याम्पियनसिप अन्तर्गत श्रीलंकाविरुद्धको खेलमा ‘प्लेअर अफ दी म्याच’ घाेषित भएकी नेपालकी फरवार्ड रस्मि कुमारी घिसिङले आफुलाई प्रशिक्षकले विश्वास गरेर दिएको मौकालाई सदुपयोग गरेको बताएकी छिन् ।

‘मलाई प्रशिक्षकले मौका दिनु भएको थियो मैले त्यसलाई सदुपयोग गरे । आफ्नो प्रदर्शन देखि खुसी छु,’ उनले भनिन् ।

घरेलु मैदानमा श्रीलंकालाई ६–० गोलको नतिजामा पराजित गरेको खेलमा रस्मिले नेपालका लागि पहिलो गोल गरेकी थिइन् । नेपालको जितमा रस्मिले गरेको गोल उनको करियरको पनि पहिलो गोल हो ।

गतवर्ष दशरथ रंगाशालामै आयोजना भएको बंगलादेशसँगको मैत्रिपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेकी रस्मिले अहिलेसम्म ६ खेल खेलेकी छिन् ।

जारी साफको पहिलो खेलमा भुटानविरुद्ध स्ट्राइकर सावित्रा भण्डारीलाई स्थानान्तरण गर्दै खेलको ८३औं मिनेटमा मैदान प्रवेश गरेकी थिइन् ।

श्रीलंकाविरुद्धको खेल सावित्राले डेंगु संक्रमण पुष्टि भएका कारण गुमाउने भएपछि रस्मिले सुरुवाती ११मै स्थान बनाएकी थिइन् ।

श्रीलंकाविरुद्ध नेपाललाई जित दिलाउन रस्मि बाहेक अमिसा कार्कीले दुई तथा दिपा शाही र अमृता जैसीले एक/एक गोल गरे ।

समूह बी को विजेता बन्दै सेमिफाइनल पुगेको नेपालले मंगलबार हुने भारत र बंगलादशको खेलमा पराजित हुने टिमलाई सेमिफाइन प्रतिद्वन्दीको रुपमा पाउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर