दोर्दी करिडोर प्रसारण लाइन सञ्चालनमा, निजी क्षेत्रका आयोजनाको बिजुली खेर नजाने – Nepal Press

दोर्दी करिडोर प्रसारण लाइन सञ्चालनमा, निजी क्षेत्रका आयोजनाको बिजुली खेर नजाने

काठमाडौं। लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरुबाट उत्पादित विद्युत प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ ।

नेपाल विद्युत प्राधिकरणले लमजुङको बेंसीसहर नगरपालिकाको उदीपुरबाट दोर्दी गाउँपालिकाको कीर्तिपुर सबस्टेसनसम्मको प्रसारण लाइनमा आइतबारबाट विद्युत प्रवाह (चार्ज)गरी सञ्चालनमा ल्याएको हो । १३२/११ केभी कीर्तिपुर सबस्टेसन यसअघि आंशिक रुपमा सञ्चालनमा आइसकेको थियो । अब सबस्टेसन पनि पूर्ण क्षमतामा सञ्चालनमा आएको छ ।

प्रसारण लाइन सञ्चालनमा आएसँगै त्यस करिडोरमा निजी क्षेत्रले निर्माण गरेका ४ जलविद्युत आयोजनाको ७२ मेगावाट विद्युत कीर्तिपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने छ ।

प्रसारण पूर्वाधार अभावमा ती आयोजनाको विद्युत खेर जाने अवस्थाको अन्त्य भएको दोर्दी करिडोर प्रसारण लाइन आयोजनाका प्रमुख रमेश पौडेलले बताए ।

‘गत वर्षको बाढीले क्षति पुर्याएको एउटा टावर निर्माणको अन्तिम चरणमा छ, त्यसैले उदीपुरबाट दोर्दी खोला–१ जलविद्युत आयोजनासम्म हाम्रो लाइन र त्यहाँबाट कीर्तिपुर सबस्टेसनसम्म दोर्दी खोला–१को प्रसारण लाइन प्रयोग गरी लाइन सञ्चालनमा ल्याएका छौं’, पौडेलले भने । ‘प्रसारण लाइन अभावमा विद्युत जोड्न नपाउने हो की भन्ने चिन्ता र चासो त्यस क्षेत्रका निजी लगानीकर्ताहरुलाई थियो, अब लाइन सञ्चालना आएपछि कुनै पनि आयोजनाको बिजुली खेर जाँदैन ।

’प्रसारण लाइनमा २७ मेगावाटको दोर्दी खोला, २५ मेगावाटको माथिल्लो दोर्दी ए, १२ मेगावाटको दोर्दी खोला–१ र ८।६३ मेगावाटको चेपेखोला साना जलविद्युत आयोजना जोडिने छन् । दोर्दी खोलामा निर्माण भएको जलविद्युत आयोजनाहरुको विद्युत दोर्दी करिडोर प्रसारण लाइनमार्फत उदीपुर सबस्टेसनमा जोडिने छ ।

उदीपुर सबस्टेसनको निर्माणमा केही समय लाग्ने देखिएपछि आयोजनाहरुको विद्युत वैकल्पिक व्यवस्थामार्फत हाल सञ्चालनमा रहेको मध्यमस्र्याङ्दी विद्युतगृहको स्वीचयार्डमा जोड्ने व्यवस्था गरिएको छ । यसका लागि निर्माणाधीन २२० केभीे मस्र्याङ्दी करिडोरको करिब ६ किलोमिटर लाइनलाई प्रयोगमा ल्याइएको छ ।

करिब ८५ करोड रुपैयाँ अनुमानित लागत रहेको दोर्दी करिडोर प्रसारण लाइन सरकारको लगानीमा निर्माण गरिएको हो । प्रसारण लाइनको लम्बाइ १० किलोमिटर छ । आयोजनाले नै कीर्तिपुरमा १३२ केभीको सबस्टेसन निर्माण गरेको हो । निर्माण सम्पन्न भएको प्रसारण लाइनको गत वर्षको असारमा दोर्दी खोलामा आएको बाढीले ४ वटा टावर बगाइदिएको थियो । त्यसमध्ये ३ वटा टावर निर्माण सम्पन्न भएको छ भने एउटा अन्तिम चरणमा छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *