अल्मुताइरीले दिए नेपाली टोलीको प्रशिक्षकबाट राजीनामा – Nepal Press

अल्मुताइरीले दिए नेपाली टोलीको प्रशिक्षकबाट राजीनामा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत अल्मुताइरीले ५ सय २५ दिनपछि आफ्नो कार्यकाल सकिएको घोषणा गरेका हुन् ।

खेलाडीसँगको विवादका कारण एक्लिएका अल्मुताइरी पछिल्लो समय बिदामा थिए ।

अखिल नेपाल फुटबल संघ-एन्फासँग उनको दुरी पनि बढेको थियो ।

यहीबिचमा एन्फाले प्रदीप हुमागाईँलाई नेपाली टोलीको निमित्त प्रमुख प्रशिक्षक नियुक्त गरेको थियो ।

हुमागाईँको प्रशिक्षणमा नेपालले केही सातापछि बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दै छ ।

अल्मुताइरिको प्रशिक्षणमा नेपाल साफ च्याम्पियनसिपमा पहिलो पटक फाइनल पुगेको थियो।

बन्द शिविरमा रहेका १० जना खेलाडीलाई व्यक्तिगत टसलमा निकालेपछि अल्मुताइरी विवादको उत्कर्षमा पुगेका थिए ।

त्यसपछि गठित छानबिन समितिले अल्मुताइरीको विकल्प खोज्न एन्फालाई सुझाव दिएको थियो ।

अल्मुताइरी बन्द शिविरबाट निकालेका १० जना र नियमित कप्तान किरणकुमार चेम्जोङलाई टोलीमा नराखी एसिया कप छनोट खेल्न पुगेका थिए ।

एसिया कप छनोटमा कमजोर प्रदर्शन गरेपछि अल्मुताइरी नेपाल फर्किएका थिएनन् ।

त्यसपछि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्ने तयारी गरिरहँदा अल्मुताइरीले खेलाडीको सूची पठाएका थिए । तर स्पष्टीकरणका विषयमा कुरा उठेपछि अल्मुताइरीले आफूलाई जबरजस्ती हटाए मुद्दा हाल्नेसम्मको चेतावनी दिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर