सन्दीपबिनाको नेपाली क्रिकेट : भावी कप्तान को ? – Nepal Press

सन्दीपबिनाको नेपाली क्रिकेट : भावी कप्तान को ?

काठमाडौं । राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछाने निलम्बनमा परेसँगै नेपाली क्रिकेटमा भयानक रिक्तता पैदा भएको छ । उनीमाथि परेको मुद्दाले कुन मोड लिने हो भन्ने निश्चित नभएकाले तत्काल विकल्प खोज्नुपर्ने बाध्यतामा छ, नेपाल क्रिकेट संघ (क्यान) ।

गत पुसमा ज्ञानेन्द्र मल्ललाई प्रतिस्थापित गर्दै सन्दीप राष्ट्रिय टिमको कप्तान नियुक्त भएका थिए । अनुशासन विपरीत काम गरेको भन्दै क्यानले तत्कालीन कप्तान मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई जिम्मेवारीबाट हटाएको थियो । उनीहरू दुवै अहिले राष्ट्रिय टोलीमा भए पनि पुरानो जिम्मेवारीमा छैनन् ।

सन्दीपको कप्तानीमा नेपालले मिश्रित नतिजा निकालिरहेको थियो । उनी बिस्तारै परिपक्व बन्दै गइरहेका थिए । व्यक्तिगत प्रदर्शनमा एकपछि अर्को उत्कृष्टता पस्किरहेका थिए । तर, अनायाशको बज्रपातले उनको व्यक्तिगत जीवन बिथोलिएको छ नै, सिंगै नेपाली क्रिकेट जगत् हल्लिएको छ । कप्तानका रूपमा भन्दा पनि खेलाडीका रूपमा सन्दीप राष्ट्रिय टिममा अत्यधिक मिस हुनेछन् ।

विगत आधा दशकदेखि सन्दीप नेपाली क्रिकेटका एक अभिन्न पात्र थिए । नेपालले प्राप्त गरेका हरेक अन्तर्राष्ट्रिय सफलतामा जोडिएका छन् उनी । क्रिकेटबाट उनले जति नाम कमाएको नेपाली खेलाडी अर्को छैन । तर, व्यक्तिगत जीवनको एउटा घटनाले उनको करिअर धराशायी बन्ने खतरा पैदा भएको छ ।

नेपाल प्रहरीले पक्राउ पूर्जी जारी गरेसँगै क्यानले उनलाई राष्ट्रिय टिमबाट हटाउन बाध्य भयो । त्यसैले अब नेपाललाई अर्को कप्तानको खोजी गर्नुपर्ने भएको छ । सन्दीप निलम्बनमा परेपछि र तत्काल टोलीमा फर्कने अवस्था कम देखिएपछि नेपाली टोलीको नयाँ कप्तान को बन्नेमा बहस सुरु भएको छ । युवा खेलाडीहरूको वर्चस्व रहेको टिममा क्यानसँग कप्तानका विकल्पहरू अत्यन्त सीमित छन् ।

पूर्व कप्तान ज्ञानेन्द्र मल्ल कारबाहीमा परेसँगै केही समय राष्ट्रिय टिमबाटै बाहिर भए । ओमानमा भएको टी–२० विश्वकप छनोट र यूएईमा भएको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलापछि टोलीमा पर्न छाडेका ज्ञानेन्द्रले यसै महिनाबाट कमब्याक गरेका छन् । नयाँ प्रशिक्षक मनोज प्रभाकर ज्ञानेन्द्रसहितका खेलाडीलाई टोलीमा समेटेर केन्या भ्रमणमा निस्किएका थिए । केन्या भ्रमणमा उनी एक दिवसीय शृखलाको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।

के अब क्यानले फेरि पछाडि फर्केर ज्ञानेन्द्रलाई नै कप्तानी सुम्पिनेछ ? धेरैले यही आशा राखेका छन् । तर, ज्ञानेन्द्रप्रति क्यानको पछिल्लो पूर्वाग्रही व्यवहार हेर्दा यो सम्भावना कम देखिन्छ । आफैँले कारबाही गरेर हटाएका खेलाडीलाई फेरि कप्तानमा फर्काउन क्यान अध्यक्ष चतुर बहादुर चन्दको अहम्ले दिँदैन ।

ज्ञानेन्द्र स्वयम् भने फेरि कप्तानी पाएको खण्डमा जिम्मेवारी स्वीकार्न तयार देखिएका छन् । नेपाल प्रेससँग कुरा गर्दै उनले आफूलाई विश्वास गरेर जुन जिम्मेवारी दिए पनि पछि नहट्ने बताए ।

‘मैले सधैँ भन्दै आएको छु, मैले टिमलाई जस्तो भूमिकामा आवश्यक पर्छ, योगदान दिन तयार छु,’ उनले भने, ‘तर, मैले नै पाउनुपर्छ भन्ने होइन ।’

ज्ञानेन्द्रप्रति क्यान सकारात्मक नभएको अवस्थामा दोस्रो विकल्प दीपेन्द्र सिंह ऐरी हुन् । यसअघि टिमको उपकप्तान रहेका ऐरी ज्ञानेन्द्रसँगै कारबाहीमा परेका थिए । यद्यपि, खेलाडीको रूपमा उनले राष्ट्रिय टिमबाट आफ्नो स्थान गुमाएका छैनन् ।

ब्याटिङसँगै बलिङबाट पनि खेल जिताउन सक्ने भएकाले दीपेन्द्र अहिले नेपाली टोलीका सबैभन्दा महत्त्वपूर्ण खेलाडी मानिन्छन् । उनी टिमका सिनियर खेलाडी पनि हुन् । तर, कप्तानी दिने सवालमा उनीप्रति पनि क्यान पूर्वाग्रही नै छ ।

क्यानसँग भएको तेस्रो विकल्प भनेको हालका उपकप्तान रोहितकुमार पौडेललाई कप्तानमा उकाल्ने हो । पौडेल अहिले नेपाली टिमका सर्वोत्कृष्ट ब्याट्सम्यानका रूपमा दरिएका छन् । एकपछि अर्को खेलमा उनको ब्याटिङ निखारिँदै गएको छ । तर, उमेरले मात्र २० वर्षमा हिँडिरहेका रोहितमा कप्तानी गुणहरू भने कम छन् । उदीयमान खेलाडीलाई अहिल्यै कप्तानीको बोझ थोपरिदिँदा उनको खेल प्रभावित बन्न सक्ने खतरा हुन्छ ।

सन्दीपको अनुपस्थितिमा हालै केन्याविरुद्धको एकदिवसिय शृङ्खलामा रोहितले कप्तानी गरेका थिए । तीन खेलको उक्त श्रृंखला नेपालले क्लिन स्वीप गरेको थियो भने, रोहितको व्यक्तिगत प्रदर्शन पनि उत्कृष्ट रह्यो । यसले पूर्ण कालिन कप्तानका रूपमा उनको दाबेदारीलाई बलियो बनाएको छ ।

यी तीन बाहेक टिममा सोमपाल कामी, करण केसी र आरिफ शेख सिनियर खेलाडीका रूपमा छन् । अरू खेलाडीहरू सबै युवा छन् । व्यक्तिगत प्रदर्शन नै स्थिर नभएका र प्लेइङ ११ मा स्थान टुंगो नभएकाहरूलाई कप्तानी दिनु व्यवहारिक हुँदैन । त्यसैले क्यानलाई कप्तान चयनमा निकै संकट देखिन्छ ।

क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले नयाँ कप्तानका विषयमा बोर्डले निर्णय गर्ने बताए ।

‘उपकप्तानका रूपमा रोहित अहिले कार्यबहाक कप्तानका रूपमा रहेका छन् । अब नयाँ कप्तान कसलाई दिने भन्ने विषयमा क्यानले निर्णय गर्ने छ’, मल्लले भने ।

कप्तानीभन्दा ठूलो संकट चाहिँ राष्ट्रिय टिममा सन्दीपको अभाव पूर्ति गर्ने बलरको खोजी गर्नु हो । सन्दीप एउटा अन्तर्राष्ट्रिय स्तरका खेलाडी हुन्, जसले हरेक हिसाबले आफूलाई प्रुफ गरिसकेका छन् । उनकै स्तरको अर्को स्पिन बलर नेपालले तत्काल पाउन सम्भव छैन । अहिले टिममा सन्दीपपछिका रेगुलर स्पिनर दीपेन्द्रसिंह ऐरी मात्रै हुन् । तर, उनी विशेषज्ञ स्पिनर होइनन् । ललित राजवंशी, सुशन भारी लगायतले केही आशा जगाए पनि राष्ट्रिय टिममा नियमित स्थान बनाउन सकेनन् । अहिले केही युवा स्पिनर टोलीमा छन्, तर स्थिर प्रदर्शन गर्न सकेका छैनन् । त्यसैले सन्दीपको अभाव नेपालले राम्रैसँग महसुस गर्ने छ आगामी प्रतियोगिताहरूमा ।

एकदिवसिय विश्वकप सहभागिता र एकदिवसिय अन्तर्राष्ट्रिय मान्यताका लागि महत्त्वपूर्ण मानिएको विश्वकप लिग–२ मा नेपाल कमजोर अवस्थामा रहेको छ । नेपाल २० खेलबाट केवल १७ अंक जोडेर सहभागी ७ टोलीमध्ये छैटौँ स्थानमा छ । नेपालले विश्वकप लिग–२ मा अझै १६ खेल खेल्न बाँकी छ ।

नेपालले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको रूपमा नोभेम्बर अन्त्यतिर नामिबियामा विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसिय अन्तर्राष्ट्रिय शृङ्खला खेल्दै छ । उक्त शृङ्खलामा नेपाल, नामिबिया र स्कटल्यान्ड रहने छन् ।

प्रतिक्रिया

One thought on “सन्दीपबिनाको नेपाली क्रिकेट : भावी कप्तान को ?

  1. पुर्वाग्रहि नभए र सक्षम व्यक्ति दिपेन्द्र सिङ ऐरि लाई दिदा उपयुक्त होला। u19 ko ni captain भएर राम्रो भुमिका निभाएको र भारत लाई पहिलो पटक हरायो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *