हलहरूले ‘ऐना झ्यालको पुतली’लाई पर्दा दिएनन् भने पाप लाग्छ : स्वस्तिमा खड्का – Nepal Press

हलहरूले ‘ऐना झ्यालको पुतली’लाई पर्दा दिएनन् भने पाप लाग्छ : स्वस्तिमा खड्का

काठमाडौं । अहिले नेपाली चलचित्र ‘ऐना झ्यालको पुतली’ले हलहरुमा शो नपाएको विषयले सामाजिक सञ्जाल तातेको छ । हिन्दी चलचित्र ‘ब्रम्हास्त्र’ को सेन्सर रोकिएका कारण नेपाली चलचित्रको शो रोकिएको भन्ने खबर बाहिरिएपछि त झन नेपाली सिने क्षेत्रमा भुइँचालो नै आएको छ ।

प्रिमियरबाट उत्कृष्ट प्रतिक्रिया बटुलेको चलचित्र ‘ऐना झ्यालको पुतली’ ले शो नपाएपछि अधिकतम कलाकारहरुले गुनासो पोखेका छन् । यसअघि कुनै पनि नेपाली चलचित्रले शो नपाउँदा कोही कसैको लागि बोलेको खासै देखिदैन थियो ।

तर यो चलचित्रको लागि भने सबैले आ-आफ्नो धारणा पोखिरहेका छन् । यस्तैमा चलचित्रकी नायिका स्वस्तिमा खड्काले पनि आफ्नो मुख खोलेकी छन् । उनले आफ्नो स्टाट्समार्फत ‘ऐना झ्यालको पुतली’एक अतृप्त चलचित्र भएको र यदि शो नदिए हलवालाहरुलाई पाप लाग्ने बताएकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘हामी सिनेकर्मीहरू अनेक बोझले थिचिएका हुन्छौं । समीक्षाको बोझ, अघिल्ला फिल्मको बोझ । बजारसम्म लगेर हरेक दर्शकसामु पुर्‍याउने बोझ । यिनै अनगिन्ती बोझ र बन्धनले हामी सधैं बाँधिन्छौं । तर यी अनेक डर र बोझबाट मुक्त भएर ‘ऐना झ्यालको पुतली’ खुला आकाशमा उडेको छ । मेरो मन पनि पुतलीझैं आकाशमा उडिरहेको छ । दुई पटक हेरिसक्दा पनि मेरो मन अघाएको छैन । लाग्छ मलाई यसले वर्षौंसम्म यसैगरी अतृप्त बनाइरहनेछ । यति इमानदार र निर्दोष फिल्म हरेक नेपालीले हेर्नुपर्छ । पर्दामा देखिने दिदी-भाइको सम्बन्ध यति सजीव छ कि म आफैं विद्या पात्र भएर धेरै पटक भाइलाई सम्झिएकी छु । धेरै पटक आँखा भिजाएकी छु । हाम्रो जीवन यस्तै खटपट, ठाकठुक र प्रेमले त अडिएको छ । हामी हुर्किएको समाजलाई ऐना बनेर देखाइदिने निर्देशक सुजित बिडारीप्रति आभारी छु । हलहरूले यो फिल्मलाई पर्दा दिएनन् भने पाप लाग्छ ।’

कुनै पनि शोहरु चलचित्र विकास बोर्डले सेन्सर नगरी हलमा लगाउन पाइँदैन । तर बोर्डले कागजात पूरा नभएको भन्दै सेन्सरको अनुमति नदिएपछि हलवालाहरुले नेपाली चलचित्रको शोहरु पनि सार्वजनिक नगरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *