रुपन्देहीमा खुल्दै रात्रीकालीन व्यवसाय, डान्स रेस्टुरेन्ट र पबमा १८ वर्षमुनिलाई प्रवेश निषेध – Nepal Press

रुपन्देहीमा खुल्दै रात्रीकालीन व्यवसाय, डान्स रेस्टुरेन्ट र पबमा १८ वर्षमुनिलाई प्रवेश निषेध

रुपन्देही । रुपन्देहीका उद्योगी-व्यवसायीहरुले लामो समयदेखि माग गर्दै आएको रात्रीकालीन व्यवसाय सञ्चालनको बाटो खुलेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले रात्रीकालीन होटल तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालनसम्बन्धी मापदण्ड २०७९ तयार गरेपछि व्यवसायीको माग सम्बोधन भएको हो ।

यससँगै भैरहवा, बुटवल तथा यस आसपासका व्यवसायी उत्साहित देखिएका छन् । व्यवसायीहरुले आफूहरुको मागअनुसार रुपन्देहीमा रात्रीकालीन व्यवसाय सञ्चालन गर्ने वातावरण तयार भएपछि ऊर्जा थपिएको बताएका छन् ।

द्वन्द्वकालमा सुरक्षाको कारण देखाउँदै रात्रीकालीन व्यवसाय सञ्चालनमा रोक लगाइएको थियो । रुपन्देहीका होटल व्यवसायीहरुले मापदण्ड नहुँदा धेरै कानुनी झन्झट व्यहोर्नुपरेको गुनासो गर्दै आएका थिए । उनीहरुले बुद्धस्थल लुम्बिनी आएका आन्तरिक तथा बाह्य पर्यटक, अन्तर्राष्ट्रिय विमानस्थलमार्फत आउने पर्यटक, ठूल्ठूला सम्मेलन केन्द्रसहितको परियोजना सञ्चालन हुँदा पनि ग्राहकलाई सेवा दिन नपाएको दुःखेसो पोख्दै आएका थिए ।

मंगलबारदेखि लागु हुने गरी जिल्ला प्रशासन कार्यालयले मापदण्डभित्र रहेर रात्रीकालीन व्यवसाय सञ्चालन गर्नसक्ने सूचना प्रकाशन गरेको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले मापदण्डअनुसार व्यवसायीहरुले रात्रीकालीन व्यवसाय सञ्चालनको लागि निवेदन दिनसक्ने बताए ।

उनले मापदण्डले निर्दिष्ट गरेका सूचकहरुको आधारमा निवेदन दिएकालाई व्यवसाय सञ्चालन गर्न अनुमति दिन सकिने जानकारी दिए ।

मापदण्डमा जिल्लामा होटल तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालन गर्ने व्यवसायीले व्यवसायको प्रकृतिअनुसार अधिकार प्राप्त निकायमा दर्ता गरी व्यवसाय सञ्चालन गरेको हुनुपर्ने पहिलो सर्त तोकिएको छ । दर्ता भएका व्यवसाय रात्रीकालीन समयमा सञ्चालन गर्न प्रशासनसँग अनुमति लिनुपर्नेछ । व्यवसायीले अनुमति मागेपछि प्रशासनले स्थलगत अनुगमन गर्ने व्यवस्था मापदण्डमा गरिएको छ । अनुगमनपछि समय तोकेर व्यवसाय सञ्चालनको अनुमति दिनसक्ने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

तर, सदाचार र नैतिकताको आधारभूत मूल्य मान्यता प्रतिकूल हुने रात्रीकालीन व्यवसाय सञ्चालन गर्न नपाइने प्रशासनको सर्त रहेको छ । त्यस्तै प्रशासनले डिस्को, डान्स रेस्टुरेन्ट एण्ड बार, लाइभ ब्याण्ड, पब, बार क्लबलगायतमा १८ वर्षमुनिका बालबालिकाको प्रवेश निषेध गरेको छ ।

सेवाग्राहीले अनुरोध गरेमा व्यवसाय स्थलबाट घरसम्म पु¥याउन व्यवसायीले सशुल्क सवारीसाधनको व्यवस्था गर्नेलगायतका नियमसमेत मापदण्डमा व्यवस्था गरिएको छ ।

रात्रीकालीन व्यवसाय सञ्चालन गर्न दिने प्रशासनको निर्णय सकारात्मक रहेको यहाँका व्यवसायीहरुले प्रतिक्रिया दिएका छन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले कोभिड १९ को महामारीसँगै ओरालो लागेको र आर्थिक मन्दीले झनै धराशायी भएको यहाँको व्यापार व्यवसायलाई टिकाउन र बजार चलायमान बनाउन रात्रीकालीन व्यवसायले मद्दत गर्ने विश्वास व्यक्त गरे ।

सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले यसले यस क्षेत्रमा पर्यटकीय चहलपहल बढाउने बताए । ‘हाम्रो मुख्य बजार भारत हो, अब भारतलगायतका देशमा रुपन्देहीमा राति पनि होटल सञ्चालन हुन्छ भन्ने सन्देश गएपछि पर्यटकमा जाँगर बढ्नेछ’, उनले भने ।

प्रशासनको निर्णयले यस क्षेत्रमा रहेका ८९ वटा स्तरीय होटल, १५० बढी अन्य होटल तथा ६ वटै क्यासिनोलाई सहयोग पुग्ने उनको भनाइ छ । तर सीमा राति १० बजे नै बन्द हुने भएकाले केही अप्ठ्यारा पनि रहेको श्रेष्ठको भनाइ छ ।

होटल व्यवसायी महासंघका संस्थापक अध्यक्ष माधव नेपालले शान्ति सुरक्षाको दृष्टिले होटल व्यवसायीले पहिले आफ्नो व्यवसायलाई व्यवस्थित गर्नुपर्ने सुझाव दिए । मापदण्डमा कस्ता कुरा राख्ने र नराख्ने पहिले नै छलफल गर्नुपर्ने उनको भनाइ छ ।

मापदण्डबारे व्यवसायीबीच छलफल

यसैबीच रात्रीकालीन बजार सञ्चालन गर्न जिल्ला सुरक्षा समिति रुपन्देहीले तयार गरेको बजार सञ्चालन मापदण्डबारे बुटवलका व्यवसायिक संघसंस्थाहरुले छलफल गरेका छन् ।

छलफलमा सुरक्षा समितिले बनाएको बजार सञ्चालन मापदण्डमाथि अन्तरक्रियासमेत भएको थियो । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजूका अनुसार जिल्ला सुरक्षा समितिले रात्रीकालीन बजार सञ्चालन गर्न बनेको मापदण्डको मस्यौदामा छलफल गरी सुझाव दिन आग्रह गरेको थियो ।

रात्रीकालीन बजार पहल पैरवी समितिका संयोजक प्रतीक पोखरेलले रात्रीकालीन व्यवसाय सञ्चालनबाट आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन सकिने र बजार पनि चलायमान भई व्यापार व्यवसाय प्रवर्द्धन हुने बताए ।

बुटवल उद्योग वाणिज्य संघले बुटवलको अमरपथ र कालिका पथमा रात्रीकालीन बजार सञ्चालन गर्न प्रस्ताव गरेको छ । बुटवल उपमहानगरपालिका वडा नं ९ र ११ का अध्यक्षहरु क्रमशः प्रदीप श्रेष्ठ र रामचन्द्र क्षेत्रीले रात्रीकालीन व्यवसाय सञ्चालन गर्न शान्ति सुरक्षाको विषयमा प्रहरी प्रशासनमात्रै नभई व्यवसायीहरु पनि संवेदनशील हुनुपर्नेमा जोड दिए ।

सीसीटीभी, बत्तीलगायतको व्यवस्थापनमा चनाखो हुनुपर्ने र त्यो कसले राख्ने र त्यसको मोनिटरिङ कसले गर्ने भन्ने विषयमा पहिले नै प्रस्ट हुनुपर्ने उनीहरुको सुझाव छ ।

कार्यक्रममा नाटा लुम्बिनी, स्थानीय होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ, रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघ, उद्योग व्यापार संघलगायतका प्रतिनिधिहरुले प्रशासनले बनाएको मापदण्डलाई व्यवस्थित बनाउनुपर्ने सुझाव दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *