साउदी अरबले ‘नेटफ्लिक्स’ लाई किन दियो चेतावनी ? – Nepal Press

साउदी अरबले ‘नेटफ्लिक्स’ लाई किन दियो चेतावनी ?

काठमाडौं । साउदी अरबले ओटीटी प्लेटफर्म ‘नेटफ्लिक्स’लाई चेतावनी दिएको छ । साउदी मिडियालाई उद्धृत गर्दै बीबीसीले जानकारी गराए अनुसार इस्लामिक धर्मको मूल्य मान्यतामा आँच पुर्‍याएको आरोप लगाउँदै त्यस्ता कन्टेन्ट शीघ्र हटाउने चेतावनी दिएको हो ।

यस्तै साउदी एन्ड गल्फ गल्फ को—अपरेसन काउन्सिलका मिडिया वाचडगहरुले नेटफ्लिक्सका कन्टेन्टले बालबालिकाका लागि बनाइएका नियमहरू उल्लङ्घन गरेको जनाउँदै सो कन्टेन्ट यथा शीघ्र हटाउन पनि चेतावनी दिएका छन् ।

मिडिया वाचडगहरुले कुन कन्टेन्ट भन्ने विषय भने खुलाएका छैनन् । यद्यपि उक्त विज्ञप्ति सहित साउदीको राष्ट्रिय टेलिभिजनले प्रसारण गरेको एक भिडिओ रिपोर्टमा एनिमेटेड शो ‘जुरासिक वर्ल्ड’ मा दुई जना एनिमेटेड किशोरीले चुम्बन गरेको सिनलाई ब्लर गरेर देखाइएको छ । सोही रिपोर्टमा विवादित फ्रेन्च सो ‘क्युटिज’ को पनि सिन समावेश गरिएको छ ।

रिपोर्टले यस किसिमका कन्टेन्टले बालबालिकाको स्वस्थ पालनपोषणलाई खतरामा पार्ने अनैतिक सन्देशहरू प्रवाह गर्ने दाबी समेत गरेको छ भने नेटफ्लिक्सले बारम्बार समलैङ्गिकतालाई देखाएर यसको नचाहिँदो प्रचार प्रसार गरेको आरोप समेत लगाएको छ ।

साउदी जनरल कमिसन फर अडिओ भिडिओ मिडिया र जीजीसीले नेटफ्लिक्सलाई संयुक्त रूपमा यस किसिमका कन्टेन्टको प्रसारण रोक्न निर्देशन दिँदै यसो नभएको खण्डमा आवश्यक कानुनी प्रक्रिया अगाडी बढाउने समेत जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *