ट्रेलर रिलिजमै धरधरी रोइन् ऋचा, भन्छिन्- रोएर फिल्म ब्लकबस्टर हुन्छ भने म फेरि ह्वाँ ह्वाँ रुन्छु (भिडिओ) – Nepal Press

ट्रेलर रिलिजमै धरधरी रोइन् ऋचा, भन्छिन्- रोएर फिल्म ब्लकबस्टर हुन्छ भने म फेरि ह्वाँ ह्वाँ रुन्छु (भिडिओ)

काठमाडौं । साकार पन्तले निर्देशन र सन्तोष पन्तले निर्माण गरेको चलचित्र ‘हिजो आजका कुरा’ को ट्रेलर आज सार्वजनिक गरिएको छ । असोज २८ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्रलाई साकार आफैंले लेखेका हुन् ।

पन्त फिल्म प्रोडक्सनको प्रस्तुतिका तयार गरिएको चलचित्रमा सन्तोष पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिव्यदेव पन्त, साकार पन्त, रीमा विश्वकर्मा, जयनन्द लामा, रमेश अधिकारी, जेविका कार्की, विनायक कुइँकेल, अनुष्का अधिकारी, निरञ्जनप्रसाद अर्याल, लक्ष्मी भुसाल, मञ्जु श्रेष्ठ, सविन शाक्य, शैलेजा पाण्डे, कमला रेग्मी आदि कलाकारहरुको अभिनय देख्न सकिनेछ ।

राजधानीमा एक प्रेस मिटको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको थियो । प्रेस मिटमा सम्पूर्णजसो कलाकारको उपस्थिति थियो । प्रश्न सोध्ने क्रममा नायिका ऋचा शर्मा एक्कासि रुन थालेपछि माहोल एकछिन साम्य भएको थियो ।

पारिवारिक अप्ठ्यारो भएकाले गर्दा आफ्नो आँखामा आँसु आएको शर्माले बताइन् । हजुरआमा बिरामी भएर अन्तिम चरणमा पुग्दा पनि आफू चलचित्रको लागि मात्र उपस्थित भएको उनको भनाइ थियो ।

फिल्म चलाउन रोएको भन्ने आरोप लाग्यो भने के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले जवाफ दिइन्, ‘म कुनै फिल्म चलाउन रोएको हैन । मेरो आफ्नै समस्या छन् । मैले आफूलाई बाँधेर नै राखेको थिएँ । एक्कासि परिवारको कुरा आएपछि म भावुक भएको हो । म किन रोएँ भन्ने तपाईंहरु सबैलाई थाहा नै छ । रोएर फिल्म चल्ने होइन । रोएर फिल्म ब्लकबस्टर हुन्छ भने ठीक छ म फेरि ह्वाँ ह्वाँ राेइदिन्छु। रोएर सिनेमा चलाउने ट्रेण्ड छ अरे । त्यो ट्रेण्ड फेरि फर्केर आयो भने सम्झिनुहोला ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *