खेलकुद संघहरुमा राजनैतिक विचलन देखियो: मन्त्री गहतराज – Nepal Press

खेलकुद संघहरुमा राजनैतिक विचलन देखियो: मन्त्री गहतराज

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले खेलकुद संघहरुमा राजनैतिक विचलन देखिएको भन्दै खेल क्षेत्रमा राजनीति नगर्न आग्रह गरेका छन् ।

नेपाल भलिबल संघको नवौं चुनावी साधारणसभा बुधबार उद्घाटन गर्दै मन्त्री गहतराजले खेल संघहरु खेलकुदमै केन्द्रित हुनुपर्नेमा जोड दिए ।

‘तपाईंहरु खेलकुदमा केन्द्रित हुनुहोस्’, उनले भने, ‘राजनीति गर्ने त विभिन्न पार्टी छँदैछन् नि !’

खेलकुदलाई सामान्य क्रियाकलापका रुपमा मात्र हेर्ने प्रवृत्तिले नेपालमा खेलकुदको विकासमा चुनौती थपिएको उनको भनाइ थियो ।

‘खेलमैत्री वातावरण सृजना गर्न सरकार लागिपरेको छ’, मन्त्री गहतराजले भने, ‘तैपनि सिंहदरबारलाई अझै खेलकुद बुझाउन आवश्यक छ ।’

नेपालमा भलिबल खेलको राम्रो सम्भावना देखिएकाले नै राज्यले राष्ट्रिय खेल घोषणा गरेको उनले उल्लेख गरे । खेललाई उद्योगका रुपमा विकास गर्नुपर्ने उनको भनाइ छ ।

मन्त्रालयले खेलाडीहरुको मनोबल बढाउन ऐनमै पुरस्कार तथा सम्मानको व्यवस्था गरेको उनले बताए । मन्त्री गहतराजले राज्यको प्रतिनिधत्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको लागि विशेष पासपोर्टको व्यवस्था गर्नेबारे छलफल भइरहेको जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला, सदस्य सचिव टंकलाल घिसिङलगायतले अधिवेशन सफलताको शुभकामना दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर