सन्दीपका बुवा भन्छन्: छोराको चालचलन खराब थिएन, छाँगाबाट खसेजस्तो भयौं – Nepal Press

सन्दीपका बुवा भन्छन्: छोराको चालचलन खराब थिएन, छाँगाबाट खसेजस्तो भयौं

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान सन्दीप लामिछानेमाथि एक १७ वर्षीया किशोरीले जबरजस्ती करणीमा जाहेरी दिएको समाचार मंगलबार बेलुकीबाट भाइरल भयो । तर, यसबारे बेखबर उनका बुवाआमा भने नियमित समयमा सुतिसकेका थिए ।

आज बिहानमात्रै उनीहरुले छोराको खबर थाहा पाए । सन्दीपका बुवा चन्द्रनारायण टेलिभिजनमा समाचार हेरेर छोराको खबर थाहा पाएको बताउँछन् । यो समाचार उनीहरुको जीवनमा कुनै ठूलो पहिरोभन्दा कम थिएन ।

‘हामीले आज बिहानमात्र टीभीमा समाचार हेर्‍यौं । छाँगाबाट खसेजस्तै भएका छौं’, चन्द्रनारायणले स्तब्ध आवाजमा भने ।

सन्दीपको चालचलनबारे यसअघिसम्म कहिल्यै नराम्रो कुरा नसुनेको र नदेखेको उनी बताउँछन् ।

उनको भनाइमा एउटा छोराको रुपमा सबै कर्तव्य र जिम्मेवारी सन्दीपले निर्वाह गरिरहेका छन् । त्यसो त केही वर्षदेखि सन्दीप क्रिकेट खेल्न प्रायः देश बाहिरै हुने भएकाले छोरासँग बस्ने मौका उनीहरुले कमै पाए ।

‘हामी काठमाडौंमा बस्न नसकेर चितवन फर्कियौं । ऊ नेपालमा भएका वेला भेट हुन्थ्यो । कहिले हामी जान्थ्यौं, कहिले छोरा आउँथ्यो । उसको नराम्रो कुरा केही सुनेनौं, सधैं राम्रोमात्रै सुन्यौं’, चन्द्रनारायणले भने ।

अहिलेको घटनाका विषयमा सन्दीपले केही पनि सेयर नगरेको उनको भनाइ छ । ‘यस्तो कुरा बुवाआमालाई सुनाउने पनि भएन, अहिलेसम्म हामीलाई यो विषयमा केही पनि थाहा थिएन’, उनले भने ।

त्यसो त बाहिर आएको घटनामा उनलाई विश्वास लागिरहेको छैन । छोरालाई फसाउन षड्यन्त्र गरिएको हो कि भन्ने उनको आशंका छ ।

चन्द्रनारायण भन्छन्, ‘हुन त आफ्नो छोरा सबैलाई राम्रो लाग्छ । तर, बन्द प्रशिक्षणमा भएको वेला यो घटना भएको भनिएकाले पत्याउन सकिरहेको छैन । बन्द प्रशिक्षणमा भएको मान्छेले कसरी त्यस्तो गर्‍या होला ?’

सन्दीप सन् २०१३ बाट काठमाडौंमा एक्लै बस्न थालेका हुन् । उनले काठमाडौंमा घर किनेपछि केही समय बुवाआमालाई सँगै राखेका थिए । तर, आफू बिरामी परेपछि काठमाडौं बस्न नसकेको चन्द्रनारायणले बताए । बुवाआमा चितवन फर्किएपछि सन्दीपले आफ्नो बुढानिलकण्ठमा रहेको घर बेचेर हात्तीवनमा फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए ।

सन्दीपको समाचार सार्वजनिक भएपछि बुवाआमाको उनीसँग कुरा हुन पाएको छैन । वेस्ट इन्डिजमा अहिले राति भएकाले फोन नगरेको चन्द्रनारायणले बताए ।

‘सुतिरहेको होला भनेर फोन गरेका छैनौं, उता बिहान भएपछि गर्नुपर्ला’, उनले भने ।

सीपीएल खेल्न गएपछि सन्दीपसँग उनीहरुको तीन-चार दिनअघि कुराकानी भएको थियो । अरु वेलाजस्तै सामान्य कुराकानी भएको चन्द्रनारायणले बताए ।

मुद्दा प्रहरीमा पुगिसकेको हुनाले निष्पक्ष अनुसन्धान हुने उनको विश्वास छ । तर, आरोप लागिसकेपछि छोरा र परिवारको छविमा दाग लागेकाले उनी चिन्तित छन् । छिटोभन्दा छिटो मुद्दाको किनारा लागोस् भन्ने उनको अपेक्षा छ ।

‘अदालतबाट निर्दोष सावित भएर इज्जतमा लागेको दाग मेटिएला भन्ने आशामा छौं’, उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *