माफी माग्दासमेत जेलमा राख्नु अत्यन्तै अन्यायपूर्ण विषय हो, अपूर्वलाई तुरुन्तै रिहा गरियोस्: हिमेश पन्त – Nepal Press

माफी माग्दासमेत जेलमा राख्नु अत्यन्तै अन्यायपूर्ण विषय हो, अपूर्वलाई तुरुन्तै रिहा गरियोस्: हिमेश पन्त

काठमाडौं । निश्चित जाति समुदायमाथि लक्षित गर्दै हास्यव्यंग्य गरेको आरोपमा पक्राउ परेका युट्युब कमेडियन अपूर्व क्षितिज सिंहलाई जेलमा राख्नु अन्यायपूर्ण भएको भन्दै अर्का स्ट्यान्ड-अप कमेडियन हिमेश पन्तले उनलाई रिहा गर्न माग गरेका छन् ।

कमेडी च्याम्पियन सिजन १ का विजेता हिमेशले सामाजिक सञ्जालमा स्टाट्स पोष्ट गर्दै माफी माग्दासमेत जेल हाल्नु अस्वाभाविक भएकाले तुरुन्तै रिहा गर्न माग गरेका हुन् ।

उनी लेख्छन, ‘कमेडी भनेको अरुभन्दा अत्यन्तै भिन्न कला हो । केमा मजाक गर्ने, कतिसम्म गर्ने, कुन लिमिटमा गर्ने र दर्शकले मन पराउलान् कि नाइ भन्ने छुट्याउन अत्यन्तै गाह्रो हुन्छ । उदाहरणको लागि नेपालका माग्नेबुढादेखि हलिउडका केविन हार्टले समेत कुनै न कुनै बेला माफी माग्नुपरेको छ । कमेडी गरेकै भरमा त्यो पनि माफी माग्दा पनि एउटा कमेडियनलाई जेलमा राख्नु अत्यन्तै अन्यायपूर्ण विषय हो । कमेडी जस्तो कुराको मुद्दा बनाएर कमेडियनलाई जेलमा राख्दै ‘फ्रीडम अफ स्पिच’ को धज्जी उडाउने काम नगरौं । अन्यायमा परेका कमेडियन मित्र अपूर्व क्षितिजलाई तुरुन्तै रिहा गरियोस् ।’

जातीय टिप्पणी गरेको आरोपमा केही दिनअघि सिंह पक्राउ परेका थिए । पक्राउपश्चात सिंहलाई १० दिन थुनामा राख्न प्रहरीले अनुमति पाएको थियो । उनले युट्युबमा पोष्ट गरेको कमेडी भिडियोले नेवाः संस्कृतिमाथि चोट पुगेको भन्दै केही अभियन्ताले सिंहविरुद्ध जाहेरी दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *