यती एअरलाइन्सले थप्यो नयाँ विमान – Nepal Press

यती एअरलाइन्सले थप्यो नयाँ विमान

काठमाडौं । यती एअरलाइन्सले एटीआर ७२-५०० विमान थप गरेको छ । यतीको यो छैटौं विमान सोमबार दिउँसो १५ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।

यतीले ७० सीट क्षमताको उक्त विमान अष्ट्रेलियाको एभासन कम्पनीसँग लिजमा ल्याएको हो । उक्त विमान क्याप्टेन ओलिभर ज्यासन ज्याफ्रीले अष्ट्रेलिया, सिंगापुर, थाइल्याण्ड हुँदै नेपालमा ल्याएको कम्पनीका प्रवक्ता तथा हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए।

एमएसएन नं ९८६ सिरिजको उक्त विमानको पहिलो उडान सन् २०११ मा भएको थियो । जम्मा १० हजार साइकलमात्र उडान गरेको उक्त विमान नेपालमा उडान गर्ने अन्य विमानभन्दा पछिल्लो विमान भएको कम्पनीले दाबी गरेको छ । एटीआर विमानको जम्मा साइकल ७० हजार हुन्छ । एक अवतरणलाई एक साइकल गणना गरिन्छ ।

विमान संख्या थप गरेसँगै कम्पनीले हाल उडान गर्ने गन्तव्यमा नै सेवा विस्तार गर्ने नीति लिएको प्रवक्ता बर्तौलाले जानकारी दिए । ‘विमानको आवश्यक कागजी प्रक्रिया पूरा गरी रंगरोगन गरेपश्चात विमानले दशैं अगाडि नै उडान गर्नेछ । यसले गर्दा दशैंको बेला हुने टिकट अभावलाई पूरा गर्न सहयोग हुने विश्वास लिएका छौं’, उनले भने, ‘यही आर्थिक वर्षभित्र अर्को एक विमान थप गर्ने र त्यसपछि नयाँ गन्तव्यहरुमा सेवा विस्तार गरिनेछ ।’

विमान थपिएपछि ५ वटा विमानलाई आधार बनाइ उडान गर्ने र एउटा विमानलाई जगेडामा राखी मर्मत तथा उडान ढिला हुँदा प्रयोग गरिने कम्पनीले जनाएको छ ।

Yeti_New_ATRATR 72-500 टर्बोप्रप विमानको पछिल्लो पुस्ताको प्रतिनिधित्व गर्दछ । ७० सीट क्षमताको यो विमान टर्बोप्रप इन्जिन भएको उत्कृष्ट विमान मानिन्छ । PW127 इन्जिनहरूद्वारा सञ्चालित ATR 72-500 यस आकारको विमानको लागि उत्कृष्ट मानिन्छ । अन्य विमानभन्दा कम आवाज र कम्पन हुने तथा भित्री इन्टेरियर उत्कृष्ट भएकाले उडानको क्रममा आरामदायी हुने कम्पनीले बताएको छ ।

यो विमानले नयाँ पुस्ताका जेटहरूभन्दा प्रतियात्रु-किमिमा लगभग ५० प्रतिशत कम कार्बन उत्सर्जन गर्दछ र पुराना विमानहरू भन्दा तीन गुणा कम कार्बन उत्सर्जन गर्दछ । यती एअरलाइन्स दक्षिण एशियामा पहिलो कार्वनन्युट्रल एअरलाइन्स हो ।

एअरलाइन्सले हाल नेपालका सुगम गन्तव्यहरु काठमाडौं, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगन्जलगायत पर्वतीय उडानहरु गर्दै आएको छ । अन्तर्राष्ट्रियतर्फ चार्टर र नन–सेड्युल उडान गर्ने अनुमति पाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *