दर्शकको प्रतिक्रियासँगै ‘सम्हालिन्छ कहिले मन’काे टिम उत्साहित – Nepal Press

दर्शकको प्रतिक्रियासँगै ‘सम्हालिन्छ कहिले मन’काे टिम उत्साहित

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘सम्हालिन्छ कहिले मन’लाई दर्शकले रुचाएका छन् ।

प्रदर्शनको पहिलो दिनको बिहानी शोमा दर्शक ओइरिएपछि निर्माण पक्ष उत्साहित बनेको छ । काठमाडौंका केही हलमा कलेजका विद्यार्थीहरुको राम्रो उपस्थिति रह्यो ।

बिहानी शो हेरेका अधिकांश दर्शकले चलचित्रलाई राम्रो भनेका छन् । विशेष गरी सिनेमाको कथावस्तु, मुख्य कलाकारहरुको अभिनय, गीतसंगीत र तीन पात्रको मित्रताले मन जितेको प्रतिक्रिया दिए ।

अधिकांश दर्शकहरुले सिनेमाको क्लाइमेक्स उत्कृष्ट लागेको र यसको सिरिज बनाउनुपर्ने माग गरेका थिए । निर्देशक सुदर्शन थापाले दर्शक मागलाई मनन गर्ने बताए ।

डेब्यु अभिनेता सोनम तोप्देनले तारिफ बटुलेका छन् । पूजा शर्मा र आकाश श्रेष्ठको अभिनय पनि प्रशंसनीय रहेको दर्शकको प्रतिक्रिया छ ।

त्यस्तै, छायांकार सौरभ लामाको कार्यलाई पनि तारिफ गरिएको छ । उनले युकेका दृश्यलाई सुन्दर ढंगले कैद गरेका छन् । निर्देशक थापाले रिलिज अगाडि भने जस्तै सिनेमाको मेकिङ पनि राम्रो रहेको बताएका छन् ।

लभस्टोरी सिनेमा बनाउन माहिर निर्देशक थापाले यसपटक पनि दर्शकको मन जित्न सफल भएका छन् । पहिलो दिन सुखद व्यापारको सुरुवात गरेको सिनेमाले शनिबार झनै राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।

दर्शक प्रतिक्रिया उत्कृष्ट आएका कारण सिनेमाको ‘वर्ड अफ माउथ’ले आगामी दिनमा व्यापार राम्रो हुँदै जाने निर्माण पक्षले विश्वास लिएको छ ।

त्रिकोणात्मक प्रेमकथामा आधारित सिनेमामा पूजा, आकाश र सोनमसंगै गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यलगायतका कलाकारहरुको अभिनय छ ।

सिनेमाको ९० प्रतिशत छायांकन युकेमा भएको हो ।

एबी इन्टरनेशनलको प्रस्तुति रहेको सिनेमामा अमित बस्नेत, अजित केआर थापा र परी रानाको लगानी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *