ट्रमा सेन्टरको निर्देशक नियुक्तिमा माधव नेपालको हस्तक्षेप, राज्यमन्त्री नै असन्तुष्ट – Nepal Press

ट्रमा सेन्टरको निर्देशक नियुक्तिमा माधव नेपालको हस्तक्षेप, राज्यमन्त्री नै असन्तुष्ट

प्रमोद यादवले आर्थिक चलखेल गरेको आरोप, रुद्र मरासिनीले पत्र पाएनन्

काठमाडौं । स्वास्थ्य मन्त्रालयबाट राष्ट्रिय ट्रमा सेन्टर (वीर अस्पताल) को निर्देशक नियुक्तिका लागि सिफारिस भएका डा.रुद्र मरासिनीको नियुक्ति नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको ठाडो निर्देशनमा रोकिएको छ । स्वास्थ्य मन्त्रालयको सरुवामा माधव नेपालको नाम लिएर आर्थिक चलखेल भएको भन्दै नेकपा एस निकट कर्मचारी असन्तुष्ट बनेका छन् ।

स्वास्थ्य सेवा विभागमा कार्यरत डा. मरासिनीलाई मन्त्रालयले बुधबार ट्रमा सेन्टरको निर्देशक नियुक्तिका लागि सिफारिस गरेको थियो । सिफारिस भएपछि बिहीबार डा.मरासिनी पत्र लिन जाँदा उनलाई मन्त्रालयले पत्र नदिएको मन्त्रायका एक उच्च कर्मचारीले नेपाल प्रेसलाई जानकारी दिए ।

उनले भने, ‘गत असार मसान्तदेखि निर्देशकको जिम्मेवारी पाएका दशौं तहका डा.प्रमोद यादवका कारण पत्र रोकिएको हो । आर्थिक चलखेलका कारण नेकपा एसका अध्यक्ष माधव नेपालको ठाडो आदेशमा मरासिनीलाई मन्त्रालयमाथि पदस्थापनको पत्र नदिन दबाब आयो, हामीले दबाब थेग्न सकेनौं ।’

मरासिनी पक्षधरहरुले भने आर्थिक लेनदेन भएको आरोप लगाएका छन् । अध्यक्ष नेपालका नातेदारसमेत रहेका नेकपा एस निकट युवा संघका एक पदाधिकारीमार्फत आर्थिक चलखेल भएकाले ११औं तहका डा.मरासिनीलाई रोकिएको दाबी उनीहरुको छ ।

राज्यमन्त्री भन्छन्ः मन्त्रालयको निर्णय लागू हुनुपर्छ

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने मन्त्रालयले गरेको निर्णय लागू हुने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले आफूले मन्त्रालयका सचिवलाई निर्देशन दिइसकेको नेपाल प्रेससँग बताए ।

उनले भने, ‘मन्त्रालयले गरेको निर्णय लागु गर्नुपर्छ । मैले सचिवलाई पनि निर्देशन दिइसकेको छु । कर्मचारीलाई जहाँ खटायो, त्यहाँ गएर काम गर्ने हो ।’

केसीले त्यहाँ कार्यरत निर्देशक प्रमोद यादवतर्फ इंगित गर्दै कुन विषयको डाक्टर हो, त्यो बुझेरै डा.मरासिनीलाई सिफारिस गरिएको बताए ।

उनले भने, ‘रुद्रजीको विषय पनि मिल्ने भएकाले मन्त्रालयले निर्णय गरेको हो । निर्णय भोलितिर लागु होला ।’

११औं तहका डा.मरासिनी हाडजोर्नी चिकित्सक हुन् भने १०औं तहका डा.यादव जनरल चिकित्सकमात्र हुन् । ट्रमा सेन्टरमा विशेष गरेर हाडजोर्नीसम्बन्धी नै बढी उपचार हुन्छ ।

सेन्टरमा डा.यादवले दोस्रो पटक निर्देशकको जिम्मेवारी सम्हालिरहेका छन् । अघिल्लोपटक ६ महिनाभन्दा बढी सेन्टरको निर्देशकको जिम्मेवारी सम्हालेका यादव मधेस प्रदेश अस्पतालको निर्देशकमा सरुवा भएका थिए । तर, गत असार अन्तिमतिर उनी ट्रमा सेन्टरमा आएपछि सेवा प्रभावित हुन थालेको त्यहाँ कार्यरत कर्मचारीको गुनासो छ ।

यादवले आर्थिक चलखेलकै कारण औषधि सप्लायर कम्पनीको भुक्तानी नै रोकिदिएको एक कम्पनीका प्रतिनिधिले नेपाल प्रेससँग बताए । जसकारण फार्मेसीमा पर्याप्त मात्रामा औषधि पाउन मुस्किल भइरहेको छ ।

उनले भने, ‘गत फागुनदेखिको सबै गरेर साढे दुईदेखि तीन करोड जति भुक्तानी रोकिएको छ । जसले गर्दा हामी चल्नै नसक्ने अवस्थामा पुगेका छौं ।’

दुई साताअघि मात्रै ट्रमा सेन्टरका कर्मचारी नेकपा एस निकट एकीकृत कर्मचारी संगठनका अध्यक्ष मोहन घिमिरेको नेतृत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा डेलिगेसन गएको थियो । यादवले कर्मचारीलाई अनावश्यक तनाव दिएको, कार्यालय समयमा कार्यालय बाहिरको काम अह्राएको भन्दै उनीहरु मन्त्रालय पुगेका थिए ।

तीनचार दिनअघि मात्रै ज्यालादारीमा काम गर्ने कर्मचारीको ६ महिना समय थप्नुपर्नेमा नथपेपछि उनीहरु आन्दोलित बनेका थिए । डा.यादवको कार्यकक्षमै पुगेर नाराबाजी गरेपछि मात्रै ज्यालादारी कर्मचारीको ६ महिना थप गर्न यादव बाध्य भएका थिए ।

यादवले स्वास्थ्य मन्त्रालयका अधिकृत सञ्जयकुमार साहलाई अवधि नपुगेरै गृह मन्त्रालयमा सरुवा गराइदिएका थिए । तर, चर्को दबाबपछि साह पुनः स्वास्थ्य मन्त्रालयमै फर्किएका थिए ।

सेन्टरका एक कर्मचारीले भने, ‘उहाँले कर्मचारीलाई दबाब दिनेदेखि गैरकानूनी काम लगाउने गर्नुहुन्छ । अफिसको नाममा ट्याब किनेर छोरीलाई चलाउन दिइरहनुभएको छ ।’

प्रतिक्रिया

One thought on “ट्रमा सेन्टरको निर्देशक नियुक्तिमा माधव नेपालको हस्तक्षेप, राज्यमन्त्री नै असन्तुष्ट

  1. यादवले अरू जे हरकत गरे पनि माधवलाई बुझाएपछि सकिई गयो नि। पार्टी फुटाएको यस्तै गर्न नपाएर हो। युवा संघमा यस्तै बिचौलिया बाँकी छन् अब।

Leave a Reply

Your email address will not be published. Required fields are marked *