चलचित्र ‘सम्हालिन्छ कहिले मन’को हेलिकप्टरमा पोष्टर टाँसेर प्रचार – Nepal Press

चलचित्र ‘सम्हालिन्छ कहिले मन’को हेलिकप्टरमा पोष्टर टाँसेर प्रचार

काठमाडौं । भोलि शुक्रबारदेखि देशभरका हलमा रिलिज हुन लागेको नेपाली चलचित्र ‘सम्हालिन्छ कहिले मन’को युनिक तरिकाले प्रचार गरिएको छ । नेपाली चलचित्रको इतिहासमा नै पहिलो पटक हेलिकप्टरमा पोष्टर टाँसेर चलचित्रको प्रचार गरिएको हो ।

त्रिभुवन विमानस्थलबाट नायिका पूजा शर्मा, नायकद्वय आकाश श्रेष्ठ र सोनम तोप्देनलाई लिएर उडेको हेलिकप्टर बौद्ध स्तुपा, पशुपति मन्दिर र स्वयंम्भु परिक्रमा गर्दै चोभार पुगेको थियो । चोभारमा आयोजित पत्रकार सम्मेलनमा कलाकारहरुले मिडियासँग युनिक प्रचारको बारेमा कुरा गरे ।

विशेषगरी नायिका पूजा शर्माले आकाशबाट काठमाडौंका सबै भगवानहरुलाई मनदेखि सम्झदै पूजा गरेको बताइन् । उनले चोभार नेपाली चलचित्रको लागि एउटा ऐतिहासिक ठाउँ पनि भएकाले आफूहरुले यो ठाउँमा पत्रकार सम्मेलन आयोजना गरेको बताइन् ।

नायक आकाश श्रेष्ठले चलचित्रको प्रचारका लागि आफूहरु उचाईमा उडे जस्तै चलचित्रले पनि व्यापारको नयाँ उचाई कायम गर्ने बताए ।

नायक सोनम तोप्देनले भने आफू भाग्यमानी रहेको बताए । पहिलो चलचित्रमा नै यती धेरै माया पाएको भन्दै सोनमले उत्साहित भएको बताए ।

‘सम्हालिन्छ कहिले मन’लाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । यो चलचित्रलाई एबी प्रोडक्शनले निर्माण गरेको हो ।

चलचित्रको प्रचारका लागि हेलिकप्टर प्रयोग गर्नुबारे पूजाले भनिन्– ‘मलाई उचाईबाट मनदेखि सबै भगवानको पूजा गर्न मन थियो । यसैले, पनि हामीले आज हेलिकप्टरबाट मनले पुज्ने भगवानको चरणमा फन्को लगाएका हौं ।’

चलचित्रको बुकिङ सुखद देखिएको छ । नेपाली चलचित्रको बुकिङ अझै सिधै शुक्रबार नै बढी हुने भएकाले पनि चलचित्रले इनिसियल व्यापार सुखद गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *