नयाँ फुटबलर तयार गर्न इटहरीमा सक्रिय पूर्वराष्ट्रिय खेलाडी सुरेन्द्र तामाङ – Nepal Press

नयाँ फुटबलर तयार गर्न इटहरीमा सक्रिय पूर्वराष्ट्रिय खेलाडी सुरेन्द्र तामाङ

इटहरी । ए डिभिजन क्लब थ्रिस्टारबाट २०५७ सालदेखि दशक बिताएका पूर्वराष्ट्रिय खेलाडी सुरेन्द्र तामाङ इटहरीका सदाबहार स्टार हुन् । उनलाई इटहरीका खेलप्रेमीदेखि खेलाडीसम्मले मान्छन् । राष्ट्रिय टीममा आधा दशक र क्लबमा दशक बिताएका तामाङले सक्रिय फुटबल यात्रापछि आफ्नो गृहनगर इटहरी छोडेका छैनन् ।

आधा दशक राष्ट्रिय टोलीका स्ट्राइकर भएको गौरवसँगै उनीसँग राष्ट्रिय टोलीमा हुँदा ११ क्याप जितेको सुन्दर अनुभव पनि छ । सहिद स्मारक ए डिभिजन लिगमा ५० गोल गर्ने थोरै खेलाडीमा उनी एक हुन् ।

उनै सुरेन्द्र अहिले इटहरीमा नयाँ पुस्तालाई खेलतर्फ तान्न सक्रिय छन् । उनी हप्ताको तीन दिन बुधबार, बिहीबार र शुक्रबार इटहरीका स्कुल तथा कलेजका विद्यार्थीहरुलाई फुटबल सिकाउँछन् । अपरान्ह साढे चार बजेपछि सुरु हुने उनको सिकाइ सात बजेसम्म चल्छ । सय हाराहारी विद्यार्थी उनको प्रशिक्षण लिन आउँछन् ।

इटहरी वडा नम्बर ९ स्थित प्रादेशिक रंगशालमा तामाङले खेलाडी उत्पादन गर्न खोजेकामात्रै हैनन् असल नागरिक बनाउने उनको प्रयास पनि अघि बढेको छ ।

‘आजको भोलि नै राष्ट्रिय खेलाडी उत्पादन गर्न नयाँ पुस्तालाई सिकाएको हैन’, तामाङ भन्छन्, ‘मैले विद्यार्थीहरुलाई खेलमा भिज्न सिकाएको हुँ । मोबाइलभन्दा परको जमातमा आकर्षित गर्न सिकाएको हुँ । कुलतमा नलागून् भनेर सिकाएको हुँ ।’

नयाँ पुस्ताले डिजिटल स्क्रिनमा समय दिन थालेपछि आफ्नो स्किलमा समय दिन नसकेको तामाङको अनुभव छ । आफ्नो प्रशिक्षणमा ६ देखि २२ वर्षका विद्यार्थीहरु सहभागी भएकाले उत्साहित छन् तामाङ । उनी भन्छन्, ‘नयाँ पुस्ताको यस्तो उत्साहप्रद सहभागिताले धेरै अर्थ लाग्छ ।’

इटहरीमा खेलकुदका आधारभूत पूर्वाधारहरु बनेकाले अब खेलाडीमा लगानी आवस्यक भएको तामाङ बताउँछन् । आफ्नो राष्ट्रिय तथा अन्तर्रास्ट्रिय खेलको अनुभव र अवकाशपछिको थप अध्ययनका खुराक विद्यार्थीहरुलाई आफूले सिकाउन चाहेको उनको भनाइ छ । उनी भन्छन्, ‘एक हिसाबले यो ज्ञान र सीप हस्तान्तरण वा भनौं पुस्तान्तरणको प्रयास पनि हो ।’

तामाङको सक्रियताले स्थानीय सरकारका जनप्रतिनिधिहरु पनि उत्साहित छन् । उनले प्रशिक्षण गराउने रंगशाला रहेको इटहरी वडा नम्बर ९ का अध्यक्ष जितेन्द्र थापा तामाङ जस्तो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल खेलाडीले स्थानीयस्तरमा सक्रिय हुनु धेरै खुशीको कुरा भएको बताउँछन् ।

‘स्थानीय सरकारको वडा अध्यक्ष र व्यक्तिगत रुपमा हामीले सकेको हौसला दिइरहेका छौं’, थापा भन्छन्, ‘उहाँ जस्ता प्रतिभालाई अरु प्रतिभा उत्पादनमा सक्रिय बनाउन प्रदेश तथा संघ सरकारको पनि सहयोगको खाँचो छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर