लिच्छवि हाउसको भूमिपूजामा गुञ्जिए गायक विपुल क्षेत्री र सुकर्म ब्यान्ड – Nepal Press

लिच्छवि हाउसको भूमिपूजामा गुञ्जिए गायक विपुल क्षेत्री र सुकर्म ब्यान्ड

काठमाडौं । बौद्धस्थित लिच्छवि हाउसको भूमिपूजा तथा शिलान्यास कार्यक्रममा गायक विपुल क्षेत्री र सुकर्म ब्यान्डले प्रस्तुति दिएका छन् ।

अन्तर्राष्ट्रिय फिल्म निर्देशक एवं बुद्ध धर्मका अग्रणी गुरु जोङसार खिन्से रिम्पोछे (खिन्से नोर्बु) को कल्पनामा बन्न लागेको लिच्छवि हाउसको भूमिपूजा तथा शिलान्यास कार्यक्रमको निम्तो मान्न विपुल काठमाडौं आएका थिए ।

विश्वप्रसिद्ध अवार्ड ग्रामी सदस्यसमेत रहेका विपुलले आफ्ना हिट गीतहरु प्रस्तुत गरे । ‘हावा चल्यो यहाँ बेस्सरी’, ‘हल्लियो बाँसघारी’, ‘उडी जाउँ भने चरी म हैन’, ‘बस्न पनि यहाँ मन छैन’लगायत हिट गीत उनले गाए ।

पञ्चतारा चर्या नृत्य र बर्था गन्धर्वले सारंगी रेटेर केही गीत गाएपछि कार्यक्रमको मध्यतिर गितार बोकेर स्टेजमा देखिएका विपुलले युवा पुस्तालाई नचाउन सफल भएका थिए । विपुलसँगै सुकर्म ब्यान्डले पनि प्रस्तुति दियो ।

कार्यक्रममा गीतसंगीतसँगै सन्देशमूलक नाटक ‘इफ वी डन्ट लाइक गडः हु विल बी’ मञ्चन गरियो । बौद्धमा साढे दुई रोपनी क्षेत्रफलमा बन्न लागेको लिच्छवि हाउसलाई सबै कलाप्रेमको पूजनीय स्थल बनाउन लागिएको फिल्म अभिनेता तथा निर्माता रवीन्द्रसिंह बानियाँले जानकारी दिए ।

उनका अनुसार भवनमा कलाका सबै विधालाई समेटिनेछ । ‘भवनलाई नाटक, पेन्टिङ, कविता, थांका, तालिम केन्द्र, थिएटर र ग्यालरीको रूपमा विकास गरिनेछ । पाहुना गृह, क्याफे पनि बनाइनेछ’, अभिनेता बानियाँले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *