साना उद्योगीको सम्मानबाट नै अर्थतन्त्र माथि उठ्छ : उद्योगमन्त्री महतो – Nepal Press

साना उद्योगीको सम्मानबाट नै अर्थतन्त्र माथि उठ्छ : उद्योगमन्त्री महतो

काठमाडौं । मधेस प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतोले साना उद्योगीहरुको सम्मनबाट नै अर्थतन्त्र माथि उठ्ने बताउँदै त्यसका लागि सहजिकरण गर्न सरकार तयार रहेको बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीमा आयोजना गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

साना उद्योगीका हरेक समस्यालाई बुझेर औद्यागिकरणमा लैजाने सरकारको प्राथमिकता भएको बताउँदै मन्त्री महतोले भने– साना तथा घरेलु उद्योग र उद्योगीको सम्मानबाट नै अर्थतन्त्र माथि उठ्छ । यसका लागि सरकार सहजिकरण र सहकार्य गर्न तयार छ ।

त्यस्तै, मुलुकमा रहेका परम्परागत मौलिक उत्पादन गर्ने लघु, घरेलु तथा साना उद्योग जोगाउन सके मात्रै औद्योगिकरणको जग बलियो हुने बताए ।

ग्रामीण क्षेत्रका परम्परागत र मौलिक साना तथा घरेलु उद्योग नै मुलुकको अर्थतन्त्रको जग भएको भन्दै यस्ता उद्योगको प्रवर्द्धनबाट मात्रै मुलुकको अर्थतन्त्र समृद्घ बन्ने बताए ।

स्थानीय मौलिक उद्योगका उत्पादनलाई बढावा दिने र बढ्दो आयातलाई न्यूनीकरण गर्नुपर्ने अहिलेको राष्ट्रिय प्राथमिकताको विषय भएको भन्दै उनले गुणस्तरीय र प्रतिस्पर्धी उत्पादन कसरी गर्न सकिन्छ उद्योगी व्यवसायी तथा सरोकारवाला निकायहरुबाट अध्ययन आवश्यक भएको बताए ।

महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले वि.सं. २०४७ सालदेखि नै साना तथा घरेलु उद्योगीहरुको लागि पैरवी गर्दै आएको बताउँदै स्वदेशी वस्तु उत्पादन र प्रयोग बढाउनुपर्छ भनेर निरन्तर सरकारलाई दबाब दिइरहेको बताए ।

नेपालको सन्दर्भमा लघु, घरेलु तथा साना उद्योगहरु आर्थिक समृद्घिको सम्वाहकका रुपमा रहेतापनि यस्ता उद्योगहरुको प्रमुख समस्याको रुपमा बजार पहुँच र वित्तीय पहुँच रहेको जिकिर गरे ।

स्वदेशी वस्तुको प्रवर्द्धन र बजारीकरण गर्नका लागि मधेश प्रदेशमा निर्यातगृह र बिक्री कक्ष सञ्चालनमा ल्याउन पनि उहाँले मन्त्री महतोको ध्यानाकर्षण गराए ।

महासंघका निवर्तमान अध्यक्ष श्यामप्रसाद गिरीले घरघरमै उद्योग भएको मधेस प्रदेशमा लघु, घरेलु तथा साना उद्योगका साथै महिला उद्योग ग्राम पनि सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता औंल्याउँदै भने– त्यहाँ बजारीकरणको समस्या भएको व्यवसायीको गुनासो छ । भोलिका दिनमा व्यवसायमा पुस्ता हस्तान्तरण गर्न आवश्यक छ । कम्तिमा जिल्ला जिल्लामा बिक्री कक्ष राख्ने र औद्योगिक प्रदर्शनी आयोजना गर्ने विषयलाई मधेस प्रदेशले प्राथमिकता दिनुपर्यो ।

कार्यक्रममा महासंघका उपाध्यक्षहरु हरिहर थापा, नेत्र पाठक, मोहन कटुवाल, सत्यनारायण प्रजापति, शोभा गुरुङ तथा सदस्य विरेन्द्र जत्ती, महासंघको महिला उद्यमी समिति सचिव डा. सोनी महतोलगायतले सम्बोधन गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *