सहकारीमा पनि बिग मर्जर, पाँचवटा सहकारी मिलेर बन्ने भयो ‘नेशनल आइडल यमुना’ – Nepal Press

सहकारीमा पनि बिग मर्जर, पाँचवटा सहकारी मिलेर बन्ने भयो ‘नेशनल आइडल यमुना’

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा सञ्चालित पाँचवटा सहकारी एकापसमा मर्ज हुने भएका छन् । शनिबार काठमाडौंमा एक कार्यक्रमबीच पाँचवटा सहकारीबीच मर्जर सम्झौता भएको हो ।

आइडल यमुना बहुद्देश्यीय सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था, नागरिक कल्याण बहुद्देश्यीय सहकारी संस्था, सत्कार बचत तथा ऋण सहकारी संस्था र घेदुङ बहुद्देश्यीय सहकारी संस्थाले एकापसमा मर्ज हुने सम्झौता गरेका हुन् ।

मर्जपछि संस्थाको कारोबार झण्डै ९ अर्ब रुपैयाँ पुग्नेछ । संस्थाका अनुसार मर्जपछि बन्ने संस्थाको बचत ४ अर्ब ६३ करोड ७० लाख ८ हजार ५९७ रुपैयाँ र ऋण तथा लगानी ४ अर्ब ९९ करोड ४५ लाख ३९ हजार १२८ रुपैयाँ पुग्नेछ । संस्थाको कुल सम्पत्ति ७ अर्ब ५८ करोड १ लाख ७५ हजार १९६ रुपैयाँ पुग्ने संस्थाले जनाएको छ ।

सम्झौताअनुसार मर्जभएपछि सहकारीको नाम ‘नेशनल आइडल यमुना बचत तथा ऋण सहकारी संस्था लि.’ हुनेछ । संस्थाको अध्यक्ष ज्ञानबहादुर तामाङ र कार्यकारी प्रमुख कुयाङ लामा रहने सम्झौता भएको छ ।

मर्जपछि सहकारी संस्थाको शेयर पूँजी ३० करोड ८१ लाख २२ हजार ५०० रुपैयाँ, सदस्य संख्या ३५ हजार २० जना पुग्नेछन् । ऋणी सदस्य संख्या ६ हजार ८५८ जना पुग्ने संस्थाले जनाएको छ । संस्थाको जगेडा कोष १४ करोड ६६ लाख ८९ हजार ९८२ रुपैयाँ र कर्जा जोखिम कोष १२ करोड ४२ लाख ३५ हजार ८९८ रुपैयाँ पुग्ने संस्थाले जनाएको छ । संस्थाको तरलता रकम १ अर्ब १३ करोड ९८ लाख ८७ हजार ८१७ रुपैयाँ अर्थात २४.५८ प्रतिशत रहने संस्थाले जनाएको छ ।

मर्ज सम्झौता कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले विभिन्न ठूला सहकारीहरुले दिएको सेवाको उदाहरण दिँदै जति ठूलो सहकारी उति धेरै सेवा पाइन बताए ।

उनले नगरपालिकाभित्रका वित्तीय कारोबार गर्ने सहकारीको दर्ता बन्द गर्नुपर्नेमा जोड दिए । अध्यक्ष कँडेलले अन्य संस्थाहरुले पनि एकीकरण अभियानलाई निरन्तरता दिनुपर्ने, संचालकहरुले पनि सदस्यको पैसामा रजाई नगरी सदस्यहरुको हितमा काम गर्नुपर्ने बताए ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले सहकारीहरुमा बचत फिर्ताको समस्या नआएको दाबी गर्दै बैंक तथा वित्तीय संस्थाले अपवाह फैलाएको बताए । सहकारीहरु टोलटोलमा गएका कारण बचत जति सहकारीमा जान लागेकाले बैंक तथा वित्तीय संस्थाले कृत्रिम अभाव देखाएर अपवाह फैलाएको उनको भनाइ छ ।

बाग्मती प्रदेशका रजिष्टार नारायण ज्ञवालीले सहकारी अभियानमा विचौलियाको घुसपैठ हुँदा समस्या आएको बताए ।

मर्जपछि बन्ने ‘नेशनल आइडल यमुना बचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष तामाङ र कार्यकारी लामाले सहकारीप्रति सदस्यहरुको विश्वासलाई कायम राख्दै थप सवल तथा बलियो संस्था बनाउन सदस्यहरुको अनुमतिमा मर्ज गर्ने निर्णय गरिएको स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *