माउथ पब्लिसिटी अब्बल भएसँगै क्यूएफएक्सले बनायो ‘प्रकाश’को शो दोब्बर – Nepal Press

माउथ पब्लिसिटी अब्बल भएसँगै क्यूएफएक्सले बनायो ‘प्रकाश’को शो दोब्बर

काठमाडौं । माउथ पब्लिसिटी अब्बल भएपछि चलचित्र ‘प्रकाश’का लागि क्यूएफएक्स च्यानलले पूर्वनिधारित शोमा दोब्बरले वृद्धि गरेको छ । आफ्नो नेटवर्कमा रहेका देशभरका हलहरुमा शुक्रबारका लागि १३ शो दिएको क्यूएफएक्सले शनिबारका लागि २६ शो दिएको छ ।

जसमा काठमाडौं उपत्यका भित्र १३ शो र काठमाडौं उपत्यका बाहिर १३ शो विभाजन गरिएको छ । क्यूएफएक्सले ‘प्रकाश’का लागि अत्यन्त न्यून शो दिएपछि त्यसको चौतर्फी आलोचना भएको थियो । चलचित्रकर्मी तथा पत्रकारहरुले समेत क्यूएफएक्सको उक्त निर्णयको खुलेर विरोध गरेका थिए ।

विदेशी चलचित्रलाई अत्याधिक शो दिएको क्यूएफएक्सले शुक्रबार आफ्नो च्यानलमा ८० प्रतिशत हाराहारीमा अकुपेन्सी भएको भन्दै शनिबारका लागि शो बढाएको हो । शुक्रबार क्यूएफएक्स अन्र्तगत सिभिल मल लगायतका हलहरुमा चलचित्र हाउसफूल भएको थियो । यसअघि अफ टाइममा बढी शो दिएको क्यूएफएक्सले शनिबारका लागि भने केही ब्यालेन्स गरेको देखिएको छ ।

निर्माण टिमले शुक्रबार देशभरमा चलचित्रको अकुपेन्सी ५० प्रतिशत भन्दा माथि रहेको बताएको छ । प्रिमियरमा निकै प्रशंसा पाएको चलचित्रले दर्शकबाट पनि उत्साहजनक प्रतिक्रिया पाएको छ । आम सर्वसाधारण मात्र होइन विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरुले समेत हेर्नैपर्ने चलचित्र भनि प्रतिक्रिया दिएका छन् । दिनेश राउत निर्देशित चलचित्रको माउथ पब्लिसिटी अब्बल भएकोले शनिबार अकुपेन्सी बढ्ने देखिन्छ । क्यूएफएक्सले पनि यहि प्रक्षेपणका साथ चलचित्रको शो बढाएको हो ।

त्यसो त शुक्रबार निर्माण टिमले पनि चलचित्रलाई न्यून शो दिएको भन्दै विरोध गरेको थियो । कलाकार प्रदीप खड्काले त प्रदर्शकले घाटी निमोट्ने चेष्टा जारी राखे सार्वजनिक रुपमै काठमाडौंका ९ वटा एलइडिमा चलचित्र प्रदर्शन गर्ने चेतावनीसमेत दिएका थिए ।

यता राजधानीका अन्य मल्टीप्लेक्सहरुले समेत चलचित्र प्रकाशको शो बढाएका छन् । सुरुदेखि नै उल्लेख्य शो दिएका बिग मुभिज, एफक्यूव, वान सिनेमा, आइएनआईलगायतका हलहरुले पनि शनिबारका लागि प्रकाशको शो थपेका छन् । निर्माता महेन्द्र अधिकारीका अनुसार शुक्रबारको अकुपेन्सी र माउथ पब्लिसिटी अब्बल भएका कारण हलहरुले शो थपेका हुन् ।

चलचित्रले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ । मुख्य पात्रका माध्यमबाट बर्गिय विभेदको कुरा पनि उठाइएको छ । चलचित्रमा प्रदीप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ । विकास सुबेदीको लेखन रहेको चलचित्र यतिबेलाको बहुप्रतिक्षित चलचित्र हो ।

चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *