आक्रोशित प्रदीप खड्का भन्छन्- हलहरुले स्वदेशी चलचित्रलाई पक्षपात गरे, प्रोजेक्टर लगाएर ‘प्रकाश’ देखाउछौं (भिडिओ) – Nepal Press

आक्रोशित प्रदीप खड्का भन्छन्- हलहरुले स्वदेशी चलचित्रलाई पक्षपात गरे, प्रोजेक्टर लगाएर ‘प्रकाश’ देखाउछौं (भिडिओ)

काठमाडौं । बहुप्रतिक्षित चलचित्रका रुपमा हेरिएको ‘प्रकाश’ ले देशभित्रै हलहरुमा अपेक्षित शो पाउन सकेन । सँगै रिलिज भएको दक्षिण भारतीय चलचित्रले नेपालका हलहरु ढाक्दा स्वदेशी चलचित्र ‘प्रकाश’ र ‘राधा’ मारमा परे । जबकि समिक्षकहरुले दुवै चलचित्रलाई ‘उत्कृष्ट’ संज्ञा दिइरहेका छन् ।

आफ्नै देशका प्रदर्शकहरुबाट अपहेलित हुनुपरेपछि प्रकाशका अभिनेता तथा नायक प्रदीप खड्का दुःखी र आक्रोशित बनेका छन् । आज एक पत्रकार सम्मेलनमा उनले हल सञ्चालकहरुले पर्याप्त शो नदिएको खण्डमा बाटोमै प्रोजेक्टर राखेर जनतालाई फिल्म देखाउने बताए ।

हलहरुले नेपाली चलचित्रप्रति पक्षपातपूर्ण व्यवहार गरेको प्रदीपको गुनासो थियो । उनले भने, ‘मेरो घर ललितपुर हो, त्यहाँ एउटा गुणस्तरीय हल भनेको लबिम हो । तर त्यो हलले ३ बजेपछिको शो नै राखेको छैन । मेरै घरकाले फिल्म हेर्छु भने पनि कि मैले उहाँहरुलाई बिर्तामोड पठाउनु पर्यो वा ट्याक्सी चढाएर अन्त पठाउनु पर्‍यो ।’ प्रदीपले पत्रकार सम्मेलनमा आफ्ना शुभचिन्तकहरुको गुनासोसमेत पढेर सुनाएका थिए ।

‘पश्चिमको कथा बनाएका छौँ तर त्यहाँ शो नै छैन । कर्णालीको कथा, जुम्लाको कथा काठमाडौंलाई थाहा होस् भनेर बनाएको । तर, अब हामीले कहाँ लगेर फिल्म देखाउने ?’ उनले थपे, ‘अब चोक–चोकमा प्रोजेक्टर लगाएर फिल्म देखाउनुपर्ने भएको छ ।’
उनले पैसा कमाउने मात्रै उद्देश्य राखेर यो फिल्म नबनाएको बताए ।

हामीलाई पैसा मात्र महत्वपूर्ण हुन्थ्यो भने दाईले (निर्माता) जग्गा दलाली गर्नु हुन्थ्यो होला । तर, हाम्रो उद्देश्य पैसा कमाउने मात्रै थिएन । हामीलाई केही भन्नु थियो । हाम्रो पैसा कमाउने इन्टेन्सन नै हैन । त्यसैले अब चोक–चोकमा प्रोजेक्टर राखेर फ्लिम निःशुल्क देखाउने हो ।’

पत्रकार सम्मेलनमा उपस्थित पत्रकारले भने प्रदीपलाई नै पेलेर प्रश्न सोधेका थिए । प्रदीपले आफ्नो अर्को चलचित्र ‘प्रेमगीत ३’ लाई बढी महत्व दिँदा ‘प्रकाश’ ओझेलमा परेको उनीहरुको आरोप थियो ।

प्रदीप खड्काको मुख्य भूमिका रहेको ‘प्रकाश’ आजदेखि देशैभर प्रदर्शनमा आएको हो । यससँगै अर्को नेपाली चलचित्र राधा पनि रिलिज भएको छ । तर, दुवै नेपाली चलचित्रलाई उछिनेर दक्षिण भारतीय चलचित्र ‘लाइगर’ लाई नेपाली हलहरुले नियम मिच्दै बिहिबार नै रिलिज गरेका थिए । भारतमै गतिलो ‘रिभ्यू’ पाउन नसकेको लाइगरलाई वितरकहरुले महंगो मूल्य तिरेर नेपाल भित्र्याएका हुन् । तर, चलचित्रको वर्ड अफ माउथ खराब भएकाले उनीहरुले यसमा गरेको लगानी उठाउन कठिन छ ।

यता प्रकाश र राधा हेर्नेहरुले दुवै चलचित्रको उच्च तारिफ गरेका छन् । निर्देशक तथा समिक्षक दीपेन्द्र लामाले यी दुवै चलचित्र नहेर्दा पनि हुने खालका नभएको बताएका छन् ।

उनले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘दुई बोतल वियरको पैसा जोगाएर दुवै फिल्म हेर्न जानु ।’

दिनेश राउतको निर्देशन तथा नायक खड्का र नायिका दिया मास्केको मुख्य भूमिका रहेको प्रकाशमा विकट ठाउँमा सरकारी शिक्षक बन्नका लागि गर्नुपरेको सङ्र्घष र मेहनत देखाइएको छ । चलचित्रको सम्पूर्ण छायाङ्कन जुम्लामा नै गरिएको हो । यस चलचित्रको प्रिमियर पनि जुम्लामा गरिएको थियो ।

राधा पनि फरक विषयमा बनेको मौलिक चलचित्र हो । सुवर्ण थापा निर्देशित यस चलचित्रमा सौगात मल्ल र सृष्टी श्रेष्ठको मुख्य भूमिका छ ।

 

प्रतिक्रिया

One thought on “आक्रोशित प्रदीप खड्का भन्छन्- हलहरुले स्वदेशी चलचित्रलाई पक्षपात गरे, प्रोजेक्टर लगाएर ‘प्रकाश’ देखाउछौं (भिडिओ)

  1. त्याे पर्दैन!! पैसा नकमाउनी भनिकन बनाया हाे भनी, यूट्युवमा लन्च गरिदिए भयाे नि त

Leave a Reply

Your email address will not be published. Required fields are marked *