मानव तस्करीमा नाम जोडिएपछि केकी र आर्यनले दिए सीआईबीमा उजुरी – Nepal Press

मानव तस्करीमा नाम जोडिएपछि केकी र आर्यनले दिए सीआईबीमा उजुरी

काठमाडौं । मानव तस्करीमा नाम जोडिएपछि नायक आर्यन सिग्देल र नायिका केकी अधिकारी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) पुगेका छन् ।

सीआईबीका एक अधिकारीका अनुसार केकी र आर्यन शुक्रबार महाराजगन्जस्थित कार्यालय पुगेर उजुरी दिएका छन् । एक चलचित्र निर्माण कम्पनीले फिल्म सुटिङ गर्ने नाममा मानव तस्करी गर्न खोजेको भन्दै केकी र आर्यनको नामसमेत जोडिएको थियो ।

फिल्म ‘तिम्रो नजर’ को सुटिङका लागि केकी र आर्यनसहित १४ जनाको सूची नयाँ दिल्लीस्थित नर्वेजियन दूतावासमा पठाइएको थियो । त्यसपछि दूतावासले सिफारिसबारे बुझ्न नेपाल पर्यटन बोर्डलाई इमेल पठाएको थियो ।

यसपछि बोर्डको सिफारिसविनै चलचित्र निर्माण कम्पनीले पुरानो लेटर प्याडमा दूतावसामा निवेदन दिएको पाइएको दाबी गर्दै बोर्डले सीआईबीमा उजुरी गरेको छ। केकी र आर्यनबाहेक सूचीमा रहेका अन्य व्यक्ति कलाकार नभएको र उनीहरूलाई तस्करी गर्न खोजिएको दाबी प्रहरीको छ।

सीआईबीका एक अधिकारीका अनुसार केकी बिहीबार मात्र अमेरिकाबाट नेपाल आईपुगेकी हुन् । उनी र आर्यन दुवैसँग चलचित्र निर्माण कम्पनीको कुनै सम्झौता नरहेको तर आर्यनको पासपोर्ट भने चलचित्र निर्माण कम्पनीसँग रहेको ती अधिकारीले बताए । सीआईबी प्रवक्ता कमल थापाले भने घटनाबारे अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *