बालेनविरुद्ध साना व्यवसायीले आन्दोलन गर्ने, उद्योग वाणिज्य संघले बोलायो आकस्मिक बैठक – Nepal Press

बालेनविरुद्ध साना व्यवसायीले आन्दोलन गर्ने, उद्योग वाणिज्य संघले बोलायो आकस्मिक बैठक

काठमाडौँ । काठमाडौं महानगरपालिको पछिल्लो गतिविधिबाट आफूहरू मारमा परेको भन्दै साना व्यवसायीहरूले आन्दोलनको तयारी गरेका छन् । केही दिनअघि फुटपाथ तथा साना व्यवसायीले विभिन्न माग राख्दै महानगरलाई ज्ञापनपत्रसमेत बुझाएका थिए ।

नक्सा पासविना बनाइएका र अण्डरग्राउण्डका संरचना भत्काउन काठमाडौंका मेयर बालेन्द्र साह आफैं मैदानमा खटिएका छन् ।

मेयर साहको यो गतिविधिले शक्तिको दुरुपयोग गरेको व्यवसायीको आरोप छ । महानगरको गतिविधि समीक्षा गर्दै थप रणनीति बनाउन उद्योग वाणिज्य संघको आपतकालीन बैठक बोलाइएको छ ।

उद्योग वाणिज्य संघ काठमाडौंका उपाध्यक्ष दुर्गाराज श्रेष्ठले काठमाडौंमा बालेनले ‘आतंक’ नै मच्चाएकाले आपतकालीन बैंठक बोलाएको बताए ।

उनले भने, ‘बेसमेन्टमा पार्किङ नै गर्नुपर्छ भन्ने कुनै कानुनी व्यवस्था छैन । घरधनी र व्यवसायीबीच सम्झौता हुँदा महानगरले केही पनि भनेन । तर, अहिले घरधनी र महानगरको झगडाको असर व्यवसायीमा परिहेको छ । बालेन पनि इन्जिनियर पढेको व्यक्ति राजनीतिमा आएका छन् । इन्जिनियर मान्छे राजनीतिमा आउन पाइन्छ कि पाइँदैन भनेर कतै उल्लेख छैन । हो, त्यसैगरी बेसमेन्टमा के हुनुपर्ने भन्ने कुनै कानुनी व्यवस्था नै छैन । ट्राफिकको डीआइजी नै लिएर बालेन के कारणले व्यवसाय नै बन्द गराउँदै हिँडेका हुन् ?’

उनले यसबारे साझा धारणा बनाउन संघको आपतकालीन बैठक बोलाइएको पनि जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *