सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल सीएफओ पार्कले भेटे प्रधानमन्त्री – Nepal Press

सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल सीएफओ पार्कले भेटे प्रधानमन्त्री

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल प्रेसिडेन्ट तथा सीएफओ एच के पार्कले बुधबार नेपालको औपचारिक भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन् । उक्त भेटमा पार्कसँग कम्पनीका अन्य वरिष्ठ अधिकारीहरूको पनि सहभागिता रहेको थियो ।

भेटका क्रममा पार्कले प्रधानमन्त्री देउवालाई सामसङले इलेक्ट्रोनिक्स उत्पादन, रिटेल र रोजगारी सिर्जनाका क्षेत्रमा गरिरहेको विभिन्न पहलका बारेमा जानकारी गराए । उनले यस प्रकारको पहलहरूले भविष्यमा समुदाय, विशेष गरी नेपाली युवाहरूको हितमा काम गरिने सामसङको प्रतिबद्धता रहेको दोहोर्‍याए ।

सामसङले आफ्नो स्थानीय साझेदार हिम इलेक्ट्रोनिक्स (गोल्छा समूह) सँग मिलेर नवलपरासीमा एलईडी टिभी उत्पादन गर्ने कारखाना सञ्चालन गर्ने घोषणा गरिसकेको छ । नेपालमा इलेक्ट्रोनिक्स उत्पादन गर्न यस नयाँ उद्योगबाट बल पुग्नेमा सामसङ विश्वस्त छ । यसका साथै स्थानीय उत्पादन क्षमता वृद्धि गर्ने र रोजगारीका अवसर सिर्जना गर्ने सरकारको नीतिमा पनि मद्दत पुग्ने कम्पनीले जनाएको छ ।

सामसङले दुई दशकदेखि नेपालमा व्यापार गरिरहेको छ । आज देशमा यो ब्राण्ड घरेलु नाम बनिसकेको छ । सो कम्पनीले स्मार्टफोन र उपभोक्ता इलेक्ट्रोनिक्स उत्पादनहरू जस्तै टेलिभिजन, रेफ्रिजरेटर, वाशिङ मेसिन र माइक्रोवेभहरू बिक्री गर्दै आएको छ ।
कम्पनीसँग २ हजारभन्दा बढी इलेक्ट्रोनिक्स रिटेल स्टोर र ग्राहक सेवा केन्द्रहरूको बलियो नेटवर्क विस्तार छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *