सहमतिबिना आफ्नो नाम चलचित्रमा राखिएको भन्दै केकीको आपत्ति – Nepal Press

सहमतिबिना आफ्नो नाम चलचित्रमा राखिएको भन्दै केकीको आपत्ति

काठमाडौं ।  नायिका केकी अधिकारी फेरि एक पटक समस्याको घेरामा परेकी छन् । ‘ब्लु वर्ड एच डी’ कम्पनीले ‘तिम्रो नजर’ नामको चलचित्र निर्माण गर्ने क्रममा आफ्नो नाम आफ्नो सहमतिबिना प्रयोग गरेपछि उनले आपत्ति जनाएकी हुन् ।

सो चलचित्र निर्माण कम्पनीले आफ्नो नाम अनावश्यक रूपमा प्रयोग गरेको, आफूले उक्त चलचित्र निर्माण कम्पनीसँग कुनै पनि सम्झौता नगरेको र आफ्नो कागज पत्र, हस्ताक्षर र नामको दुरुपयोग भए कारबाहीको माग गर्ने बताएकी छन् ।

उनले आफ्नो सामाजिक सञ्जालमा स्टाटस लेख्दै सो समाचार झुटो भएको बताइन् ।

‘विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचार अनुसार ‘ब्लु वर्ड एच डी’ नामक चलचित्र निर्माण कम्पनीले ‘तिम्रो नजर’ नाम गरिएको चलचित्र निर्माण गर्ने बहानामा कलाकारको रूपमा मेरो संलग्नता देखाई सरकारी कागजपत्र समेतको दुरुपयोग गरेको भन्ने समाचार प्रति सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छु। मैले त्यस्तो नाम गरेको कुनै चलचित्र निर्माण कम्पनीसँग कुनै पनि नामको चलचित्रमा सम्झौता गरेकी छैन’, उनी लेख्छिन्,‘ यस किसिमको अवाञ्छित गतिविधिबारे कुनै पूर्व जानकारी पनि थिएन। साथै मेरो व्यक्तिगत विवरण समेटिएको सरकारी कागज पत्र, हस्ताक्षर र नामको दुरुपयोग गरी गैरकानूनी क्रियाकलाप गरिएको रहेछ भने दोषी उपर कडा कारबाही गर्न सम्बन्धित निकायलाई निवेदन गर्न चाहन्छु।’

केही समय अगाडि पनि उनी झुटो प्रचारको सिकार बनेकी थिइन। केकीले तौल घटाउने प्रोडक्ट सेवन गरेर शरीरको तौल घटाएको र आश्चर्यजनक रूपमा परिवर्तन आएको भन्दै एक कम्पनीले उनको नाम र तस्बिरहरू प्रयोग गरी विज्ञापन प्रकाशन गरेको थियो । केकीले आफ्नो बारे आएको उक्त विज्ञापन झुटो भएको र यस्ता झुटा प्रचारको पछि नलाग्न सबैलाई अनुरोध गरेकी थिइन् ।।

प्रतिक्रिया

One thought on “सहमतिबिना आफ्नो नाम चलचित्रमा राखिएको भन्दै केकीको आपत्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *