५ लाखमाथिको बचत तत्काल फिर्ता गर्न सकिँदैन:  देउराली सहकारी – Nepal Press

५ लाखमाथिको बचत तत्काल फिर्ता गर्न सकिँदैन:  देउराली सहकारी

काठमाडौं । देउराली बहुउद्देश्यीय सहकारीले ५ लाखमाथिको बचत रकम तत्काल फिर्ता गर्न नसकिने बताएको छ । सहकरीका अध्यक्ष रवीन्द्र चौलागाईंले पत्रकार सम्मेलन नै गरेर संस्थामा सबै शीर्षकमा रहेको बचत रकमलाई दुई भागमा विभाजन गरेर फिर्ता गर्ने योजना सुनाएका छन् ।

उनले भने, ‘५ लाखसम्मको बचत रकमलाई साना बचतकर्ता र ५ लाखमाथिकालाई ठूला बचतकर्ताको रुपमा विभाजन गरेर रकम फिर्ता गर्ने योजना छ । संस्थाको रकम दुरुपयोग भएको नभई लगानी गरेका ठाउँहरुबाट रकम नउठेको कारण समस्या देखिएको हो ।’

पहिलो ५ लाखसम्मका साना बचतकर्ताहरुलाई तत्कालै संस्थाको ३ वटै काउन्टरबाट क्रमिक भुक्तानी गर्दै जाने र ५ लाखमाथि बचत भएकाहरुलाई २ वर्षभित्र सम्पूर्ण रकम फिर्ता गरिने उनले बताए । ‘५ लाखमाथिका निक्षेपकर्ताहरुले बचत सुरक्षणको लागि घडेरीको रुपमा विकास गरिएको टुक्रा जग्गा नामसारी गरिदिने योजना छ’, अध्यक्ष चौलागाईंले भने ।

कोरोना महामारीको असर, अर्थ जगतमा निरन्तरको तरलता समस्या र आर्थिक मन्दीको प्रभावस्वरुप देउराली बहुउद्देश्यीय सहकारीमा केही समस्या आएको सहकारीले बताएको छ । तर, सहकारीमा देखिएका समस्या भने हल हुने दिशामा रहेको उनले बताए ।

बजारमा देउराली सहकारी समस्यामा पर्‍यो, डुब्न लाग्यो भन्ने खालका हल्ला फिजाइएपछि अध्यक्ष चौलागाईले निक्षेपकर्ताहरुलाई डाकेर पत्रकार सम्मेलन नै गरेका छन् ।

अन्य सहकारीहरुमा देखिएका समस्या एवं विकृतिले बजारलाई त्रसित बनाएको कारण पनि निक्षेपकर्ताहरु आत्तिएको भन्दै उनले देउराली भने डुब्ने नै गरी कुनै समस्या नभएको दाबी गरे ।

अध्यक्ष चौलागाईंले प्रेस विज्ञप्ति जारी गर्दै चितवनको भरतपुर महानगरपालिका- ६ मेघौलीमा रहेको ५७ विगाहा जग्गालाई १२६७ टुक्रामा प्लटिङ गरिएको जनाएका छन् । मेघौलीलगायत अरु विभिन्न ठाउँहरुमा समेत रहेका जग्गा बचत सुरक्षणका लागि ठूला निक्षेपकर्तालाई नामसारी गर्ने योजना संस्थाले बनाएको छ ।

बचतकर्ताहरुले रकमको सट्टा प्लट नै लिन पनि पाउने संस्थाले बताएको छ । करिब २० हजार सदस्य रहेको देउरालीले निक्षेपकर्ताहरुबाट ३ अर्ब बचत संकलन गरेको छ । हाल संस्था निक्षेपकर्ताहरुको ६५ करोड रकम फिर्ता गर्नुपर्ने अवस्थामा छ । संस्थाले प्रवाह गरेको कर्जा समयमै नउठेको र कोभिडलगायत देशमा देखिएको आर्थिक मन्दीका कारण समस्या सिर्जेको अध्यक्ष चौलागाईले बताएका छन् ।

ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यालय रहेको सहकारीको भक्तपुर र न्यूरोड गरी ३ वटा काउन्टर छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *