अपेक्षित विस्तार भएन किसान कार्ड, के छन् फाइदा ? (भिडिओ) – Nepal Press

अपेक्षित विस्तार भएन किसान कार्ड, के छन् फाइदा ? (भिडिओ)

काठमाडौं । कृषि विकास बैंकले आर्थिक वर्ष २०७७/७८ को माघमा आफ्नो ५४ औं वार्षिकोत्सव बाट वितरण सुरु गरेको थियो किसान कार्ड । तर अहिलेसम्म यसको अपेक्षित विस्तार हुन सकेको छैन ।

त्यतिबेलाको बजेटमा कृषि उत्पादन तथा बजार जोखिम कम गर्न मोबाइल एपमार्फत किसानलाई मौसम, बीउबिजन, खेती प्रणाली र बजार मूल्यसम्बन्धी सूचना उपलब्ध गराउने तथा किसान ऋणमा समेत सहज पहुँच पुर्‍याउन किसान क्रेडिट कार्डको सुरुवात गरिने भनिएको थियो । कृषि क्षेत्रमा नेतृत्वदायी भुमिका निभाइरहेको कृषि विकास बैंकले यो जिम्मेवारी पाएको थियो ।

कार्ड जारी गरिएको डेढ वर्षमा जम्मा ९ हजार ५०४ वटा कार्डमात्रै वितरण भएर प्रयोगमा आएको छ । ९ हजार ३६८ जना किसानले यो कार्ड प्रयोग गरेका छन् । २१६ वटा कार्ड संस्थागत प्रयोग भएको बैंकले जनाएको छ । संस्थागत प्रयोगतर्फ कृषिसम्बन्धी काम गर्ने सहकारी रहेका छन् ।

बैंकले २० हजार कार्ड जारी गर्ने लक्ष्य लिएको थियो । तर, कोरोना संक्रमणको कारण अपेक्षित कार्डको विस्तार हुन नसकेको बैंकले जनाएको छ ।

बैंकले चालु आर्थिक वर्षभित्र थप २० हजार कार्ड जारी गर्ने बताएको छ । बैंकका अनुसार चीनबाट सादा कार्र्ड ल्याएर नेपालमै प्रिन्ट गर्ने गरिएको छ । क्युआर कोर्ड स्क्यान गर्ने एमपस डिभाइस पनि विदेशबाटै ल्याइएको छ ।

हालसम्म किसान कार्डमार्फत ४२ लाख ६४ हजार ४३ रुपैयाँ भुक्तानी भएको प्रोेजेक्ट डाइरेक्टर वीना शर्माले बताइन् ।

यस्तै सोही समयमा सुरु भएको किसान मोबाइल एपका प्रयोगकर्ता पनि ६ हजार ३२८ पुगेका छन् । यसमा १९१ संस्थागत प्रयोगकर्ता छन् ।

कहाँ लिने किसान कार्ड ?

विद्युतीय भुक्तानीको माध्यमबाट कारोबार गर्न सकिने गरी बैंकले जारी गरेको कार्ड नै किसान कार्ड हो । भिसा कार्डजस्तै देखिने किसान क्रेडिट कार्ड क्यूआर कोडको आधारमा चल्छ । कुनै पनि किसानलाई कृषि सामग्री चाहिए ऊ विक्रेतासम्म पुगेर सामान किन्छ र सामानको भुक्तानी एमपस मेसिनले कार्डको क्युआर कोड स्क्यान गरेर लिन्छ ।

हाल १४६ एमपस मेसिन रहेको छ । विक्रेतालाई मर्चेन्टको रुपमा परिभाषित गरिएको छ । हालसम्म यस्ता मर्चेन्ट १३५ वटा रहेको बैंकको भनाइ छ ।

किसान कार्डका लागि कृषि विकास बैंकमा खाता हुनुपर्छ । त्यसपछि कार्डको फर्म भरेपछि बैंकले कार्डको प्रक्रिया अगाडि बढाउँछ । कार्डको चार्ज १०० रुपैयाँ लाग्ने बैंककी प्रोजेक्ट डाइरेक्टर शर्माले जानकारी दिइन् । कार्ड लिन इफाड अर्थात इन्टरनेशनल फण्ड फर एग्रिकल्चर डेभलपमेन्टले सहयोग गरेको छ ।

किसान एप के हो ?

किसान एपमार्फत आर्थिक कारोबारबाहेक सूचना प्रदान गर्ने, बजारका मूल्यको जानकारी, प्राविधिक सल्लाह-सुझाव, मौसम विवरणलगायतका जानकारी पाइन्छ । एप प्रयोगकर्ताका लागि कार्ड नहुँदा पनि हुन्छ । स्मार्ट फोन नभएकाहरुका लागि भने कार्डको प्रयोग हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *