अध्यक्षको जग्गा बेचेर बचत फिर्ता गर्दै जन्म सहकारी, ५ दिनभित्रै दाबी गर्नुपर्ने – Nepal Press

अध्यक्षको जग्गा बेचेर बचत फिर्ता गर्दै जन्म सहकारी, ५ दिनभित्रै दाबी गर्नुपर्ने

काठमाडौं । जन्म बचत तथा ऋण सहकारी संस्थाले अध्यक्ष श्रीराम श्रेष्ठको जग्गा बिक्री गरेर बचत रकम फिर्ता गर्ने भएको छ । २०६५ सालमा स्थापना भएको सहकारीका अध्यक्ष श्रेष्ठ २०६७ सालमा १ करोड १३ लाख रुपैयाँ हिनामिना गरेर फरार भएका थिए ।

सहकारीका सञ्चालक वीररत्न मालीले सहकारीका अध्यक्षलाई परिवारले नै नियोजित रुपमा २०६७ सालमा भगाएको बताए । उनले भने, ‘सहकारीका अध्यक्षको मूत्यु भएको भनेर अध्यक्षको परिवारले २०६८ सालमा सहकारीलाई जग्गा दिएको थियो । अहिले त्यही जग्गा बिक्री गरेर बचतकर्ताको निक्षेप फिर्ता गर्न ५ दिने सूचना निकालेका हौं ।’

सहकारीले ५ दिनभित्र आआफ्नो बचत दाबी गर्न नआए पैसा नदिने भनी सूचना जारी गरेको छ । उक्त सूचनामा उल्लेख समयावधिमा सहकारीले त्रुटि भएको भन्दै सञ्चालकहरुले ५ दिने सूचना निकालेको भए पनि समय नपुगे थप गर्ने मालीले बताए ।

सहकारी स्थापना भएको १ वर्षपछि बन्द भएको थियो । जसले गर्दा बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाएका थिएनन् ।

सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले भने, ‘सहकारीले ५ दिनभित्र दाबी गर्न नआए बचत रकम फिर्ता गर्दिन भन्न मिल्दैन । बचतकर्ताको रकम सबै हिसाब गरेर फिर्ता गर्नुपर्छ । यस विषयमा हामी बुझ्छौं र आवश्यक कारबाही अगाडि बढाउनेछौं ।’

सहकारीले सोमबार एक सूचना जारी गर्दै आफूले बचत गरेको आधिकारिक कागजात, पासबुक, भौचरका साथै नागरिकताको फोटोकपीसमेत लिई बचत फिर्ता लिन आउन भनेको छ । ‘पाँच दिनपछि दाबी गर्न आउने बचतकर्ताहरुको बचत फिर्ता गर्न नसकिने जानकारीसमेत यही सूचनामार्फत् दिन चाहन्छौं’, सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *