जम्यो मेस्सी, एमबाप्पे र नेमारको तालमेल, गरे ४ खेलमा १५ गोल – Nepal Press

जम्यो मेस्सी, एमबाप्पे र नेमारको तालमेल, गरे ४ खेलमा १५ गोल

पेरिस। यो सिजन फ्रान्सको लिग वान क्लब पेरिस सेन्ट जर्मन-पीएसजीले गोलको वर्षा गरिरहेको छ । सिजनका सुरुवाती चार खेलमा पीएसजीले २१ गोल गरेको छ ।

लिग वानको खेलमा आइतबार राति लिलेलाई ७-१ गोलले हरायो । त्यसअघि सिजनको पहिलो खेलमा फ्रेन्च सुपर कपको फाइनलमा पीएसजीले नान्टेसलाई ४-० गोलले हराएको थियो । त्यसपछि लिगका सुरुका तीन खेलमा पीएसजीले १७ गोल गरेको छ । पहिलो खेलमा क्लरमेन्टलाई ५-० र दोस्रो खेलमा मन्टेपिलरलाई ५-२ गोलले हराएको थियो।

यी चार खेलमा नेमार, केलियन एमबाप्पे र लियोनल मेस्सीले मात्र १५ गोल गरेका छन् । नेमारले चार खेलमा ७, मेस्सीले चार खेलमा ४ र एमबाप्पेले दुई खेलमा चार गोल गरेका हुन् । एमबाप्पेले सिजनको सुरुका दुई खेल गुमाएका थिए ।

मेस्सी र नेमारले एमबाप्पेमाथि हाने फूल

घरेलु लिगअन्तर्गत पीएसजीको दोस्रो खेलमा एमबाप्पे विवादमा आएका थिए । रिसको झोकमा मेस्सीसँग कुम ठोकेको र फर्केरसमेत नहेरेको भन्दै एमबाप्पेको कटु आलोचना भएको थियो ।

त्यही खेलमा एमबाप्पेले नेमारसँग विवाद पनि गरेका थिए । नेमारले पेनाल्टी हान्ने बेलामा आफूले पाउनुपर्ने भन्दै एमबाप्पेले नजिकै पुगेर विवाद गरेका थिए ।

सोही खेलमा एमबाप्पेले पहिला पाएको पेनाल्टी मिस गरेका थिए । त्यसपछि पाएको अर्को पेनाल्टीमा नेमार आफैंले हान्न खोज्दा एमबाप्पेले विवाद गरेका थिए । त्यसयता विवादको शिखरमा पुगेका एमबाप्पेलाई आइतबार राति मेस्सी र नेमारले गतिलो साथ दिए । मेस्सीकै असिस्टमा एमबाप्पेले लिग वान कीर्तिमान बनाए ।

उनले खेल सुरु भएको ८ सेकेन्डमै गोल गर्दै लिग वानमा सबैभन्दा छिटो गोल गर्ने कीर्तिमान बनाएका थिए । त्यसपछि एमबाप्पेले ६६ र ८७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

दुवै गोलमा नेमारले असिस्ट गरेका थिए । गत सिजनको सुरुमा मेस्सी पीएसजी पुगेपछि यी तीन जनाको अग्रपंक्तिले विश्व क्लब फुटबलमा तहल्का मच्चाउनसक्ने अनुमान गरिएको थियो । तर, पहिलो सिजन अपेक्षित रहेन । एमबाप्पेले ४६ खेलमा ३९, मेस्सीले ३४ खेलमा ११ र नेमारले २८ खेलमा १३ गोल गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर