चुनाव खर्चका लागि १० अर्ब प्रस्ताव, स्वीकृतिका लागि अर्थमन्त्रालय पठाइयाे – Nepal Press

चुनाव खर्चका लागि १० अर्ब प्रस्ताव, स्वीकृतिका लागि अर्थमन्त्रालय पठाइयाे

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि १० अर्ब रुपैयाँ बजेट प्रस्ताव गरेको छ । उक्त बजेट स्वीकृतिका लागि आयोगले अर्थ मन्त्रालयमा पठाएको जनाइएको छ । यस बारेमा मन्त्रालय र आयोगबीच आइतबार छलफलसमेत भइसकेको छ ।

निर्वाचनमा ५७ प्रकारका निर्वाचन सामग्रीको प्रयोग गरिने आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्माले जानकारी दिए । उनका अनुसार तीमध्ये आयोगबाट ४२ प्रकारका सामान र १५ प्रकारका सामान जिल्ला तहबाट खरिद गरिनेछ । केन्द्रबाट खरिद गर्दा लागत कम हुने पाइएकाले त्यसअनुसार खरिद प्रक्रिया सुरु भइसकेको प्रवक्ता शर्माले बताए ।

आयोगले निर्वाचन शिक्षा तथा मतदाता शिक्षासम्बन्धी अवधारणापत्र, २०७९, मतदाता शिक्षा नीति, २०७८, निर्वाचन तालिम निर्देशिका, २०७८ अनुसार काम गर्ने तयारी पनि अघि बढाएको छ । आयोगले निर्वाचन आचारसंहिता, २०७८ लाई परिमार्जनको तयारी गरेको छ भने निर्वाचनको तयारीका सन्दर्भमा दलसँग चाँडै परामर्श गर्दैछ । दलहरुसँग आचारसंहितामा हस्ताक्षरसमेत गराइने जनाइएको छ ।

आयोगले निर्वाचनमा अनुगमनका लागि अनुगमन निर्देशिका र पर्यवेक्षणका लागि पर्यवेक्षण निर्देशिका पनि जारी गर्ने तयारी गरेको छ । निर्वाचनमा अन्तर्राष्ट्रिय पर्यवेक्षणका लागि सूचना जारी भइसकेको छ भने राष्ट्रिय पर्यवेक्षणका लागि पनि केहि दिनमा नै सूचना जारी हुदैँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *