शक्तिशाली यी मुलुक पनि ऋणबाट छैनन् टाढा – Nepal Press

शक्तिशाली यी मुलुक पनि ऋणबाट छैनन् टाढा

काठमाडौं । कोरोना महामारीका कारण विश्वका अधिकांश मुलुकमा राष्ट्रिय ऋण बढेको छ । विश्व बैंकले पनि महामारीका कारण करिब ९७ करोड मानिस चरम गरिबीमा धकेलिएको अनुमान गरेको छ । कोरोना महामारीको कठिन परिस्थितिसँग जुध्न विश्वव्यापी सरकारहरूको उच्च स्वास्थ्य सेवा लागत, बेरोजगारी, खाद्य असुरक्षा, र व्यवसायहरूलाई जीवित राख्न विभिन्न खालका सहुलियत तथा सुविधा दिनुपरेको थियो । यस कारण पनि विश्वव्यापी ऋणको चाप पर्न गयो ।

आर्थिक सहयोग उपलब्ध गराउनका लागि विभिन्न देशले नयाँ ऋण लिनु परेको थियो । जसका कारण विश्वव्यापी ऋणको ग्राफ उकालो लागेको देखिन्छ । देशको सार्वजनिक ऋणलाई यसको आर्थिक उत्पादनसँग तुलना गरिन्छ । एक देश कति ऋणी छ र यसले एक वर्षमा कति उत्पादन गर्छ तुलना गरेर अर्थशास्त्रीहरूले देशको ऋण तिर्न सक्ने सैद्धान्तिक क्षमता मापन गर्ने गरेका छन् ।

स्टाटियाको तथ्यांकलाई आधार मान्ने हो भने विश्वको शक्तिशाली मानिएको अमेरिका पनि कुल ग्राहस्थ उत्पादनको १२८ प्रतिशत ऋणमा चलेको छ ।

अहिले सबैभन्दा बढी ऋण जापानमा छ । यो देशको अर्थतन्त्र विश्वमा मजबुत अर्थतन्त्र भएको देशको रूपमा गनिन्छ । तर यही देश कुल ग्राहस्थ उत्पादनको २५७ प्रतिशत ऋणमा छ । सुडान र ग्रिस पनि २ सय प्रतिशत भन्दा माथि ऋण रहेको देशमा परेको छ । दक्षिण एसियाको माल्दिभ्स पनि सबैभन्दा बढी ऋण हुने देशको १० औ नम्बरमा रहेको छ ।

नेपालको कति छ ऋण ?
नेपालीको थाप्लोमा प्रत्येक वर्ष ऋणको भार थपिँदै गएको तथ्यांक केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गर्दै आएको छ । जति बेला प्रतिवेदन सार्वजनिक हुन्छ तयतिबेला ऋणको भारमा पारेको भन्दै चौतर्फी आलोचना समेत हुने गरेको छ ।

सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयलाई आधार मान्ने हो भने नेपाललाई अहिले १८ खर्ब ५५ अर्ब बढी ऋण छ । यो ऋणको हिस्सेदार प्रत्येक एक नेपाली हुन्छ । यस कारण अहिले एक व्यक्तिको थाप्लोमा ६३ हजार भन्दा बढी पर्न जान्छ । नेपालको सबैभन्दा ठुलो दातृ निकाय विश्व बैंक र एशियाली विकास बैंक हो । कुल गा स्थ उत्पादनमा नेपालको ऋण ५० प्रतिशतभन्दा कम छ ।

अर्थविद्हरु ऋण हुनु भनेको ज्यादै खराब अवस्था नभएर विकासका लागि पनि ऋण आवश्यक रहेको बताउँछन् । देशमा अनुदान र ऋण गरेर वैदेशिक सहायता आउँछ । वैदेशिक ऋण राष्ट्रिय नीति र दाताहरूको आफ्नो नीतिमा भर पर्छ । पछिल्लो समय नेपालमा अनुदान भन्दा ऋणको हिस्सा बढ्दै गएको छ । ऋणको हिस्सा बढ्नुले देश ऋण तिर्न सक्षम बन्दै गएको विज्ञहरूको बुझाइ छ ।

अर्थविद् केशव आचार्यका अनुसार नेपालमा जीडीपीको ५० प्रतिशतसम्म ऋण हुँदा डराउनुपर्ने अवस्था हुँदैन । सो भन्दा बढी हुन थाल्यो भने चाहिँ होसियारी अपनाउनु पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *