निजी बीमा कम्पनीहरुको गुनासो- सरकारी स्वास्थ्य बीमाले हामीलाई असर पार्‍यो – Nepal Press

निजी बीमा कम्पनीहरुको गुनासो- सरकारी स्वास्थ्य बीमाले हामीलाई असर पार्‍यो

काठमाडौं । सरकारले दाबी भुक्तानी रोकिएपछि निजी बीमा कम्पनीहरुले स्वास्थ्य बीमाको नाम नै परिवर्तन गर्न माग गरेका छन् । तिनीहरुले सरकारले भुक्तानी नदिँदा आफूहरुको स्वास्थ्य बीमामा असर पारेको बताएका हुन् । अहिलेसम्म स्वास्थ्य बीमामा ५९ लाख मानिस जोडिएका छन् ।

२०७२ सालमा सामाजिक स्वास्थ्य सुरक्षाका रुपमा सुरु भएको स्वास्थ्य बीमाले २१ अर्ब रुपैयाँ भुक्तानी गरिसकेको छ । अघिल्लो आर्थिक वर्षमा मात्रै ९ अर्ब ५२ लाख स्वास्थ्य बीमा रकम भुक्तानी गरिएको थियो । त्यस्तै अघिल्लो आर्थिक वर्षकै करिब साढे ५ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउन २०७२ सालमा सामाजिक स्वास्थ्य सुरक्षाका रुपमा स्वास्थ्य बीमा सुरु गरिएको थियो ।

सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीले सरकारको स्वास्थ्य बीमाले इन्स्योरेन्स कम्पनीहरुको स्वास्थ्य बीमालाई असर गरेको बताए ।

‘सरकारको स्वास्थ्य बीमालाई पनि सर्वसाधारणले इन्स्योरेन्स कम्पनीको स्वास्थ्य बीमा भनेर बुझेकाले समस्या परेको छ । सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमाको नाम नै परिवर्तन गर्नुपर्छ’, उनले भने, ‘सरकारको स्वास्थ्य बीमालाई युनिभर्सल हेल्थ कभर भनेर नाम राखौं । यसले गर्दा इन्स्योरेन्समा भएको स्वास्थ्य बीमालाई केही असर गर्दैन । अहिले सरकारले पैसा नदिँदा इन्स्योरेन्स कम्पनीहरुले पैसा नदिएको भन्ने बुझाइ सर्वसाधारणमा परेको छ ।’

विभिन्न लाइफ इन्स्योरेन्स कम्पनीहरुले घातक रोग बीमा, दुर्घटना बीमा र मेडिकल बीमा गर्दै आएका छन् । यसलाई पनि स्वास्थ्य बीमा भनेर बुझ्ने गरिन्छ । सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा थोरै रकमको छ । बीमा कम्पनीहरुले गर्ने स्वास्थ्य बीमा धेरै रकमको छ ।

नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले पनि स्वास्थ्य बीमाको कारणले केही समस्या भएको बताए । ‘स्वास्थ्य बीमाले पैसा दिएन भन्दा इन्स्योरेन्स कम्पनीले नदिएको हो कि भन्ने बुझाइ भएको छ’, उनले भने, ‘इन्स्योरेन्स कम्पनीहरुले आफ्नो दाबी भुक्तानी गरिरहेका छन् । सरकारको स्वास्थ्य बीमाको पैसा रोकिएको हो ।’

सरकारी स्वास्थ्य बीमाको कारणले आफ्नो स्वास्थ्य बीमा समस्यामा पर्ने अवस्था आएपछि निजी बीमा कम्पनीहरु चिन्तामा छन् । सरकारले भुक्तानी नदिँदा अस्पतालहरुले स्वास्थ्य बीमाबाट स्वास्थ्योपचार गर्न नसकिने बताउँदै आएका छन् । स्वास्थ्य बीमा गरेका सर्वसाधारणले पनि आफ्नै खर्चमा उपचार गरिरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य बीमा सरकारको कार्यक्रम भएकाले बीमा भुक्तानी हुने बताए । उनले स्वास्थ्य बीमाको समस्या समाधान गर्न कार्यदल बनाइसकेको जानकारी दिए ।

गत बिहीबार स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीको अध्यक्षतामा ५ सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ गुणराज लोहनी, बीमा बोर्डका सदस्य डा. सुरेश तिवारी, श्रम मन्त्रालयका एक जना सहसचिव र प्रमुख औषधि व्यवस्थापक नारायण ढकाल सदस्य रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *